सुदूरपश्चिममा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या १८ पुग्यो, ७ जना घाइते, २७ जना बेपत्ता
2021/10/20, 1:56
 
aa

आइतबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा परेको अविरल वर्षाका कारण बाढीपहिरो जाँदा १८ जनाले ज्यान गुमाएका छन्। हालसम्मको तथ्यांक अनुसार डोटीमा सबैभन्दा बढी १२ जनाले ज्यान गुमाएका छन्। त्यस्तै बैतडीमा ४ जना र डडेल्धुरामा २ जनाको मृत्यु भएको छ। 

प्रहरीको तथ्यांक अनुसार डोटीको जोरायल गाउँपालिका–४ सयगडामा एकै घरका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर विक, उनका छोरा मोहन विक र छोरी पबित्रा विक रहेका छन्। सोही घरमा मामाघर आएका १६ वर्षीय रविन बिकको पनि मृत्यु भएको थियो।  यस्तै जोरायलकै वडा नम्बर ४ नवलपुर बस्ने जोगी सार्कीको घरमाथिबाट पहिरो खस्दा सार्कीसहित उनकी ६१ वर्षीया श्रीमती झुपरी सार्कीको पनि उपचारका क्रममा मंगलबार राति  मृत्यु भएको छ।

यस्तै शिखर नगरपालिका वडा नम्बर ११ मा ३६ वर्षीया मन्धरा बलायरको मृत्यु भएको छ। गोपघाट बजारबाट घर जाने क्रममा माथिबाट पहिरोसँगै आएको ढुङ्गा टाउकोमा लाग्दा घाइते भएकी उनको सुजङ अस्पताल राजपुर डोटीमा उपचारका क्रममा मृत्यु भएको हो। सोमबार राति जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर दुई जना मृत्यु भएको इलाका प्रहरी कार्यालय डोटीले जनाएको छ। मृत्यु हुनेहरुमा बिरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडा रहेको प्रहरीले जनाएको छ।

यस्तै सायल गाउँपालिका वडा नम्बर ५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विकको मंगलबार पहिरोमा पुरिएर मृत्यु भएको छ। त्यस्तै मंगलबार छत्रेश्वर खोलाले बगाउँदा बेपत्ता भएका सायल गाउँपालिका १ का ७४ वर्षीय बिरे रोकाया मृत फेला परेका छन्। उनी घरदेखि १०० मिटर तल फेला परेको बताइएको छ। यसैगरी पहिरोमा परी बोगटान फुड्सिल गाउँपालिका–५ उपल्लागाउँमा ईन्द्रबहादुर नेपालीकी श्रीमती चन्द्रा नेपाली पनि मृत्यु भएको छ। 

उता बैतडीमा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा उनका २ बुहारी र १ नातिको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए। मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की रहेका छन्।  प्रहरीले मंगलबार साँझ घटनास्थलबाट तीनै जनाको शव निकालेको जनाएको छ। बैतडीकै सुर्नया गाउँपालिका ५ रामकी बरायलमा घर भत्किँदा ७१ वर्षीया परुदेवी महराको पनि ज्यान गएको छ। 

डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको प्रदेश प्रहरीले जनाएको छ। डडेल्धुरामै खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको हो। घर नजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको स्थानीय प्रदीप शाहीले बताए। खोलाले बगाएपछि करिब ५ सय मिटर तल उनको शव भेटिएको प्रदीप शाहीले बताए।

७ जना घाइते 
बाढीपहिरोमा परी विभिन्न जिल्लाका ७ जना घाइते भएका छन्। डोटीका बिरबहादुर कुन्जेडा ३३ वर्षीया बासुदेबी कुन्जेडा र ७ वर्षीय बिन्दा कुन्जेडा घाइते भएका छन्। डडेल्धुरामा पहिरोमा परी २५ वर्षीय देवकी रावल र ७ वर्षीय ग्रिस रावल घाइते भएका छन् भने बैतडीमा ५५ वर्षीया सरस्वती बिष्ट र  ३० वर्षकी माया बिष्ट घाइते भएकी छिन्। 

२७ जना बेपत्ता
बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्। जिल्लाको थलारा गाँउपालिका वडा नम्बर ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए। उनका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन्। 

बेपत्ता हुनेमा हाशुदेवी पार्की, आयुश पार्की, सिमाकुमारी पार्की, हिमाकुमारी पार्की, हर्कु सार्की, धनगिरी सार्की, सिता सार्की, परभास सार्की, भुमिका सार्की, सिरन्जिबि सार्की, ईश्वरा देवी सार्की, संदिप सार्की र सबिना सार्की रहेका छन्। यस्तै सरोज सार्की, सर्मिला कुमारी सार्की, पम्मा सार्की, सुवास सार्की, बिकाश सार्की, मदन सार्की, कलु सार्की, र एलिशा सार्की पनि बेपत्ता छन्।

यस्तै कैलालीमा चार जना बेपत्ता छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय खडक बहादुर घर्तिमगर, सोही ठाउँका ३५ वर्षीय बिक्रम घर्तिमगर र २६ वर्षीय खडक रानामगर बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरु कर्णालीमा माछा मार्न गएका थिए। उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। यस्तै गणेश आउजी खुटिया खोलाले बगाउदा बेपत्ता छन्।

पहिरोमा परी प्रदेशमा हालसम्म १५ घर भत्किएको विवरण आएको छ। बझाङमा ११, डोटीमा २ र डडेल्धुरामा २ घर भत्किएको प्रहरीले जनाएको छ।