धनगढी–डडेल्धुरा जोड्ने सडक सञ्चालनमा आउन थप केही दिन लाग्ने
2021/10/21, 12:02
 
dd

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण चार दिनदेखि अवरुद्ध धनगढी–डडेल्धुरा जोड्ने सडक सञ्चालनमा आउन थप केही दिन लाग्ने छ ।

धनगढी–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गका दर्जनौ स्थानमा बाढी र पहिरोले पु¥याएको क्षति तत्काल मर्मत संभार गर्न संभव नभएका कारण सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालनमा आउन थप केही दिन लाग्ने जिल्ला प्रशासन कार्यालय डडेल्धुुराले जनाएको छ ।

डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका– १ साहुखर्क, वडा नम्बर ३ गाईलीखेत, सेल्तडा, नवदुर्गा गाउँपालिका – ३ गजरौला आलिताल गाउँपालिका – १ घण्टेश्वर, वडा नम्बर ३ कटालमा पहिरोका कारण सडक अबरुद्ध भएको छ ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले सडकमा खसेको पहिरो स्काभेटरबाट हटाउने प्रयास जारी रहेको बताए । प्रमुख जिल्ला अधिकारी जोशीले भीमदत्त राजमार्गका दर्जनौ स्थानमा पहिरो खसेका कारण तत्काल हटाउन संभव नभएकोले उक्त सडक सञ्चालनमा आउन थप केही दिन लाग्ने बताए ।

उनले भने, आज सञ्चालनमा आउन सक्ने संभावना नै छैन । भोलि पनि सञ्चालनमा आउछ आउदैन भन्न सकिन्न । स्काभेटरले पहिरो हटाउने प्रयास जारी छ । भीमदत्त राजमार्ग अवरुद्ध भएका कारण सुदूरपश्चिमका पहाडी जिल्लाबाट तराई आउदै गरेका सयौयात्रुहरु डडेल्धुरामा अलपत्र परेका छन् ।