बाढीको प्रभाव: कञ्चनपुरमा डेढ सय  बिगाह केराखेती नष्ट
2021/10/27, 10:34
 
dd

मनसुन सकिएपछि अविरल रुपमा परेको वर्षाले तटीय क्षेत्रका स्थानीयले लगाएको केरा खेतीमा ठुलो नोक्सानी पुर्‍याएको छ ।  वर्षा र बाढीले कञ्चनपुरमा डेढसय विगाहको केराखेती नष्ट भएको छ ।  अविरल वर्षा र बाढीले फलेको केरा खेतमै डुवान र ढलेर नष्ट भएसँगै व्यवसायिक रुपमा केरा खेती गर्दै आएका केरा किसान मर्कामा परेका छन् ।  व्यवसायिक रुपमा केरा खेती गरिरहेका किसानको व्यवसाय नै चौपट भएको छ । 

भीमदत्त नगरपालिका १० जिमुवाका केरा किसान कृष्णदत्त भट्टले दुई बिगाहमा लगाएको केराखेती वर्षाले नष्ट गरिदिएको बताए । ‘मैले दुई विगाह जमिनमा तीन हजार बोट लगाएका थिए, ‘उनले भने, ‘६ सय घरी केरा बेचे, दुई सय घरी केरा नष्ट भयो’,उनले भने ।  लालझाडी गाउँपालिका ३ नन्दगाउँका बहाली रानाले १५ कट्टामा केरा खेती गरेका थिए । ‘केरा बेच्ने समयमा पानी आएर नष्ट भयो, ‘उनले भने, ‘बाँकी बचेको केरा बेच्नका लागि समेत साहु पाइएको छैन ।’ 

पुनर्वासका केरा किसान जनक धामीले वर्षा र बाढीले आफ्नो ५ विगाहको केरामध्ये ६० प्रतिशत नष्ट भएको बताए । ‘जमिनमा पुरै पानी भरिएले गिलो हुन्छ, ‘उनले भने, ‘फलेको केरामा भारी लोडले थाम्न नसक्ने अवस्थामा फलेको केरा खेतमै ढल्यो, पानीमा परेर कुँहियो ।’ विपद्ले केरा किसानले ठुलो नोक्सानी बेहोर्नु परेको बताउँदै उनले केरा किसानका लागि विशेष राहत, क्षतिपूर्तिको व्यवस्था नगरे कयौं किसान केराखेतीबाट पलायन हुनुपर्ने अवस्था सृजना भएको बताए ।

‘व्यवसायिक रुपमा केरा खेती गरिरहेका किसानलाई यस सिजनमा ठुलो घाटा भएको छ, ‘उनले भने, ‘बैंकको ब्याज र लगानी उठाउन समेत समस्या भएको छ, यसमा सरकारी निकायले ध्यान दिनुपर्छ ।’