‘नेताहरू आश्वासन मात्र दिएर जान्छन्’
2021/10/28, 11:12
 
dd

बाढी प्रभावित क्षेत्रमा राजनीतिक दलका नेतादेखि स्थानीय तह र प्रदेश तथा संघका जनप्रतिनिधिहरूको दोडधुप चलेको छ । दिनहुँ नेताहरू आउने भएपनि राहत केही नपाइने र आश्वासन मात्रै पाइने गरेको पीडितहरू बताउछन् । ‘एकपछि अर्को गरि दिनहुँ नेताको दौडधुप चलिरहेको छ,’ दोधारा चाँदनी नगरपालिका— १० कुतियाकभरका मोहनराम सुनारले भने, ‘हामी भोकै बस्नुपरेको छ, नेताहरू आश्वासन मात्रै दिन्छन् ।’

दोधारा चाँदनी— १० को कुतियाकभर जिल्लामा बाढीले सबैभन्दा बढी प्रभावित क्षेत्र हो । जोगबुडा नदीपारि रहेको उक्त वस्तीमा ४२ परिवारको बसोबास छ । महाकाली र जोगबुडा नदीको बाढी पसेर त्यहाँ घर टहरा भत्काउनुका साथै खेत र घरभित्रको अन्न सबै बाढीले बगाएको छ ।

‘नेताहरू त आएका आयैं छन्, तर राहत कोही पनि दिदैनन,’ कुतियाकभरकै खडके बुढाले भने, ‘हामीलाई बिहान खाए, साँझ के खाने, साँझ खाए बिहान के खाने भन्ने भएको छ, नेताहरू चुनावी प्रचार प्रसारमा हिडेजस्तै आउछन् ।’ उनको घर गोठ बाढीले सबै भत्काएको छ । घरभित्रको अन्न पनि बालुवाले पुरिएको छ । गाई, भैंसी र बाख्रा पनि बाढीले बगाएर लग्यो ।

भीमदत्त नगरपालिकाको खल्ला मसेट्टीदेखि भुजेला, ओदाली र बडैपुर हुँदैं दोधारा चाँदनीको सुन्दरनगर र कुतियाकभरमा सबै दलका नेताहरू पुगिरहेका छन् । कांग्रेसका रमेश लेखकदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मै सबै पुगिसके । एमालेका सांसद द्वय निरु पाल र दिपकप्रकाश भट्ट तथा भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्ट पनि पुगिसकेका छन् । कांग्रेस नेता लेखक तथा सांसदद्वय पाल र भट्ट दैनिक रुपमा बाढी प्रभावित क्षेत्रमा पुगिरहेका छन् ।

नेकपा एकिकृत समाजवादीका प्रदेश सांसद प्रकाश रावलदेखि सुदूरपश्चिम प्रदेशका अन्तरिक मामिलामन्त्री पुर्णा जोशी र सामाजिक विकास मन्त्री लालबहादुर खडकासमेत बाढी प्रभावित क्षेत्रमा पुगिसकेका छन् । हेलिकप्टरमा दोधारा चाँदनी र भुजेलाको महाकाली नदीकिनारमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले राहत वितरणका विषयमा आश्वासन समेत नदिएको भन्दै स्थानीय निराश बनेका छन् । देउवाले काठमाण्डौ फर्केर ठोस निर्णय लिने भनेपनि पीडितहरू विश्वस्त हुन सकेका छैनन् । प्रधानमन्त्रीले उचित राहत तथा क्षतिपुर्ती दिने घोषणा हुन सक्ने आसा बोकेर आएका प्रभावितहरू निराश भइ फर्केका थिए ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री र सामाजिक विकासमन्त्री आउँदा त स्थानीयले विरोध नै जनाएको थिए । महाकालीको बाढीले पहुँचमार्ग कटान गरेर वस्तीमा पस्ने खतरा भइरहेका बेला पुगेका उनीहरूलाई रमिता हेर्न आएको भन्दै स्थानीयले विरोध जनाएका थिए । स्थानीयले सुरक्षाकर्मी र सञ्चारकर्मीलाई समेत उक्त क्षेत्र प्रवेशमा रोक लगाउन खोजेका थिए ।

‘हाम्रो बस्ती जोगाउन र पीडितलाई राहत दिन कोही आउदैन, जो पनि रमिता हेर्न मात्रै आउछन्,’ बाढीबाट विस्थापित भएका भीमदत्त नगरपालिका —११ भुजेलाका नर बहादुर रानाले भने, ‘हामी विस्थापित भएका छौं । कुनै वास्ता छैन ।’ महाकालीको बाढी भुजेला खोला हुँदै बस्तीमा पसेपछि उक्त क्षेत्रमा रानासहित एकदर्जन बढी परिवार विस्थापित भएका हुन् ।

गैर आवासीय नेपाली संघले वितरण गर्‍यो ९० लाखको राहत

तीन तहका सरकारदेखि राजनीतिक दल कुनैले पनि राहत वितरणमा चासो नदिएका बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दोधारा चाँदनी र भीमदत्त नगरपालिकाका बाढी प्रभावितहरूलाई ९० लाख बराबरको खाद्यान्न लगायत राहतसामग्री वितरण गरेको छ । संघले मंगलबार प्रभावितहरूलाई सम्बन्धित क्षेत्रमै पुगेर राहत वितरण गरेको हो । संघले दोधारा चाँदनीका डेढ सय र भीमदत्त नगरपालिकाका डेढ सय गरी ३ सय परिवारलाई राहत उपलब्ध गराएको हो । दाल, चामल, बेसार, खुर्सानी, आलु, प्याज, खाने तेल, बाल्टिन, जग र मास्कलगायतका सामग्रीहरू वितरण गरिएको हो ।