सुदूरपश्चिम सरकारको नेतृत्व आफूले पाउनु पर्ने नेकपा एसको माग
2021/11/01, 8:10
 
news

नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफ्नो दलले पाउनु पर्ने माग  राखेको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा  सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले  प्रदेश सरकारको नेतृत्व आफ्नो दलले पाउनु पर्ने बताएकी हुन् । “प्रदेशमा आफ्नो दल नै सबैभन्दा ठूलो रहेकाले  सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग हाम्रो हो” उनले भनिन्,हामीले नेतृत्व मागेका छौ तर निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीसँग छ ।”

पत्रकार सम्मेलनमा कमिटीका पदाधिकारीहरूको कार्य विभाजन समेत गरेको जानकारी दिइएको थियो ।इन्चार्ज शाहका अनुसार शेरबहादुर कुँवरलाई संगठन विभाग प्रमुख, हर्कबहादुर सिंहलाई पार्टी स्कुल विभाग प्रमुख, दिनेशचन्द्र सुवेदीलाई प्रदेश कार्यालय व्यवस्थापन प्रमुख, दीर्घ सोडारीलाई कोष तथा आर्थिक व्यवस्था विभाग प्रमुख, तारा लामा तामाङलाई प्रचार तथा प्रकाशन विभाग प्रमुख र माया भट्टलाई महिला फाँट प्रमुखको जिम्मेवारी दिइएको छ ।

सो पार्टीले १५१ सदस्यीय प्रदेश कमिटी बनाएको छ बताउदै प्रदेशमा तीन महिने संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको प्रदेश उपाध्यक्ष शेरबहादुर कुँवरले बताए ।

उनका अनुसार मङ्सिर ३ गते धनगढीमा प्रदेशस्तरीय पार्टी कार्यकर्ता भेला आयोजना गर्ने निर्णय हालै बसेको प्रदेश कमिटीको बैठकले गरेको छ ।पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा कात्तिक २० गतेभित्र जिल्ला कमिटी र कात्तिक मसान्तसम्म नगर तथा गाउँ कमिटीको गठन पुनर्गठन र विस्तार गरिसक्ने बताइएको छ ।

विज्ञप्तीमा लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय पक्षले अनावश्यकरुपम सिर्जना गरेको विवाद उच्च तहको कुटनीतिक पहलबाट राष्ट्रहितमा हुने गरेर समाधान गर्न सरकारसँग माग गरिएको छ ।