सुदूरपश्चिम गठबन्धनमा खटपट: छटपटीमा समाजवादी, पछुताउँदै कांग्रेस, ढुक्क माओवादी
2021/11/08, 7:52
 
aa

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वलाई लिएर यतिबेला सत्तारुढ गठबन्धनभित्रै खटपट चलिरहेको छ। सुरुवातदेखि नै सरकारको नेतृत्व माओवादीले गरे पनि मुख्यमन्त्रीमा एकीकृत समाजवादी र नेपाली कांग्रेसले दावी गरेपछि नेतृत्वको विषयलाई लिएर गठबन्धनमा रहेका तीन दलबीच  खटपट भएको हो।

छटपटीमा समाजवादी
एमाले विभाजनपछि प्रदेश सभामा पहिलो दल बनेको एकीकृत समाजवादी प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडानमा छ। प्रदेश कमिटीको बैठकबाट पनि मुख्यमन्त्रीमा दावी गर्दै समाजवादीले गठबन्धनमा छलफलका लागि केन्द्रीय कमिटीलाई आग्रह गरेको छ। 

कात्तिक १० गते धनगढीमा सम्पन्न समाजवादीको प्रदेश कमिटीको बैठकले पनि प्रदेश सरकारमा दावी पेस गरेको छ। प्रदेश अध्यक्ष विक्रम शाहीको अध्यक्षतामा बसेको बैठकले सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने निर्णय गर्दै केन्द्रलाई सहजीकरणको लागि अनुरोध गरेको छ।

अहिले माओवादीको नेतृत्वमा नेकपा एकीकृत समाजवादी सहितको सरकार  छ। यसअघि कांग्रेस, माओवादी र एकीकृत समाजवादीले २/२ प्रदेशको नेतृत्व गर्ने सहमति भएको थियो। 

‘सबैभन्दा ठूलो दलको हैसियतले हाम्रो दावी हो, अनौपचारिक रूपले यसमा छलफल पनि भइरहेको छ। माघपछि सरकारको नेतृत्व हामीले गर्छौं,’ एकीकृत समाजवादीका सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले भने, ‘तत्कालै बदल्ने सम्भावना छैन, केही समय लाग्छ। चाँडै नतिजा देखिने छ।’

समाजवादी सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले पनि सरकारको नेतृत्वबारे केन्द्रमा छलफल भइरहेको बताइन्। ‘सरकारको नेतृत्व हाम्रै पार्टीले गर्छ, केन्द्रमा छलफल भइरहेको छ। हामी केन्द्रीय गठबन्धनको निर्णय कुर्दै छौँ’, उनले भनिन्।

पछुताउँदै कांग्रेस
गठबन्धनमा भए तापनि सरकार बाहिर रहेको कांग्रेस पछुतोमा छ। एमाले सरकारको समर्थन फिर्ता लिँदा मुख्यमन्त्री त्रिलोचन भट्टलाई मौन समर्थन गरेको कांग्रेस अहिलेसम्म सरकारमा सामेल हुन सकेको छैन। कांग्रेस मुख्यमन्त्रीको प्रमुख दाबेदार दल हो। नेतृत्व नपाए प्रदेश सरकारमा सामेल नहुने निष्कर्षमा कांग्रेस पुगेको छ। 

कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलको टोली प्रदेश सरकारको नेतृत्व माग्न पटक–पटक प्रधानमन्त्री कार्यालय र सभापति शेरबहादुर देउवाको निवासमा पुगिसकेको छ। तर देउवाले आश्वासन मात्र दिइरहेका छन्। देशभर गठबन्धन रहे पनि सुदूरपश्चिममा भने कांग्रेसलाई उपेक्षा गरेको संसदीय दलका नेता रावलको आरोप छ। 

‘वर्तमान मुख्यमन्त्रीले अझै पनि हामीलाई प्रतिपक्षको नजरले हेरेका छन्। हामीसँग कुनै छलफल भएको छैन। गठबन्धनको सरकार भए पनि हामी अहिलेसम्म बाहिर छौँ। मुख्यमन्त्री त्रिलोचन भट्टले आफूखुसी योजना वितरण गरेका छन्। कांग्रेस सांसदहरूको क्षेत्रमा योजना हालेका छैनन्,’ संसदीय दलका नेता डा. रावलले भने, ‘यो सरकारले जनताका आकांक्षा पूरा गर्न सकेन। अब सरकारको नेतृत्व हामी लिन्छौँ। यो विषयमा केन्द्रमा छलफल भइरहेको छ, चाँडै निष्कर्षमा पुग्छौँ।’ एमाले विभाजनपछि एकीकृत समाजवादी ठूलो दल बनेपछि उसले सरकारको नेतृत्वमा दावी गरिरहेको हो।

‘हामी अहिले पछुताइरहेका छौँ’, कांग्रेसका एक नेताले भने,’ ‘एकीकृत समाजवादीलाई पहिलो दल बन्न दिनु हाम्रो भुल भयो। एमाले विभाजनका बेला हामीले रोल खेलेर समाजवादीलाई पहिलो दल हुनबाट रोक्नुपथ्र्यो तर त्यो बेला हामी चुप बस्यौँ। अझै पनि प्रतिपक्षको नजरले हेर्ने मुख्यमन्त्री भट्टलाई सहयोग गर्नु हाम्रो अर्को भुल भयो।’

ढुक्क माओवादी
सुरुवाती चरणबाटै सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र अन्तिमसम्म सरकारको नेतृत्व छोड्न नपर्ने भन्दै ढुक्क जस्तै छ।  अहिले प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने कुनै सम्भावना नरहेको नेकपा माओवादी केन्द्र सुदूरपश्चिम सह–इन्चार्ज नेपबहादुर चौधरीले दावी गरे। 

‘गठबन्धनमा छलफल भए पनि यहाँको प्रदेश सरकार परिवर्तन हुने कुनै सम्भावना छैन। माग गर्नु, बहस हुनु, छलफल हुनु स्वभाविक हो। तर प्रदेश सरकारको नेतृत्व हाम्रो पार्टीले नै गर्छ, चौधरीले भने, ‘गठबन्धनमा दुई/दुई प्रदेश लिने सहमति भएको हो। त्यो कार्यान्वयन हुँदा पनि सुदूरपश्चिम सरकार हाम्रै पार्टीको भागमा परेको छ। हामी ढुक्क छौँ, मुलुकमा ठूलै परिवर्तन नआएसम्म सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व हाम्रै पार्टीले गर्छ।’

५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका १४ सांसद छन्। त्यसपछि माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, एमालेका सभामुख सहित ११, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका १/१ सांसद छन्।