‘व्यक्तिगत स्वार्थ पूरा नभए पार्टीका निर्णय अवैध हुुन्छन् र ?’ 
2021/11/10, 10:24
 
dd

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टले प्रदेश कमिटीको बैठक अवैध भन्दै उपाध्यक्ष भीम रावलले गरेको टिप्पणीमाथि प्रश्न उठाएका छन् ।भट्टले पार्टीको केन्द्रीय र स्थायी कमिटी बैठकले गरेका निर्णयका आधारमा नै प्रदेश कमिटीको पूूर्ण बैठक राखिएको बताए । उनले रावलको टिप्पणीलाई लक्षित गर्दै व्यक्तिगत स्वार्थ पूूरा भएन भन्दैमा अवैध भन्न नमिल्ने प्रतिक्रिया दिएका छन् । 

बैठक सकिएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै भट्टले कुनै अमुुख व्यक्तिको स्वार्थ पूरा गर्ने पार्टीका निर्णय वैध र नभएमा अवैध हुने भन्ने कुुरा गलत भएको बताए । ‘पार्टीले गरेका निर्णय कसैको स्वार्थ अनुुकुूल, व्यक्तिवादी, महत्वाकांक्षालाई पूरा गर्ने भए सही हुने, नभए अवैध हुने भन्ने हुुँदैन्,’ भट्टले भने, ‘उहाँ (भीम रावल) सहभागी बैठकले गरेकै निर्णयका आधारमा प्रदेश कमिटीको बैठक बसेको कुरा उहाँलाई थाहै छ  । कुनै मतभेद छ भने पार्टी कमिटीमा राख्दा हुुन्छ । बाहिर प्रचार गर्नू चरम अराजकता हो ।’ उनले अन्तर पार्टी निर्देशन (अपानि) बमोजिम र पार्टीको निर्णयकै आधारमा प्रदेश कमिटिको बैठक राखिएको प्रष्ट पारेका छन् । 

एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्दै इन्चार्ज भट्टले फरक मत कमिटीमै राख्नका लागि आग्रह गरेका थिए । उनले भने–‘फरक मत राख्नलाई समितिहरू छन्, समितिको बैठकमा राख्नुहोस्, सामाजिक सञ्जालमा होइन ।’ एमाले उपाध्यक्ष रावलले मंगलवार बिहान ट्वीट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका थिए । उनले उक्त बैठक गुटबन्दीको नमूना भएको बताएका थिए । प्रदेश कमिटीको बैठक दश बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अन्तर पार्टी निर्देशन १२ को विपरीत भएको रावलले उल्लेख गरेका थिए ।

‘आज हुने भनिएको कथित सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ । यो गुटबन्दीको नमूना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि १२ झापामा लागु हुने, सुपमा लागु नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ?’ रावलले ट्वीटरमा उल्लेख गरेका थिए ।

बैठकमा बोल्दै नेता भट्टले यसको जवाफमा पार्टी भित्रको असन्तुष्टि पार्टी कमिटीमै राख्न सुझाव दिए । एमाले–माओवादी एकीकरण हुनुअघि एमालेको सुदूरपश्चिम इन्चार्ज रावल थिए । माधव नेपाल निकट नेताहरुसँग भएको सहमतिअनुसार २०७५ जेठ २ अघिको अवस्थामा पार्टी फर्किदा इन्चार्ज आफू हुनुपर्ने रावलको दावी छ । एमाले अध्यक्ष ओलीले भने माओवादीबाट पार्टीमा आएका नेता लेखराज भट्टलाई प्रदेश इन्चार्ज बनाएका छन् । रावलको असन्तुष्टिका बीच प्रदेश कमिटी बैठक बसेको हो ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चि प्रदेश कमिटीको पूर्ण बैठक मङ्गलबार सम्पन्न भएको छ। एमाले पार्टी कार्यालयमा बैठक भएको हो । सो बैठकमा १० औं राष्ट्रिय महाधिवेशन, प्रदेश कमिटीका पदाधिकारी चयन र मनोनयनकाबारेमा छलफल भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

यसैगरी, जिल्ला कमिटीका पदाधिकारी चयन र जिल्लाका अधिवेशनबारे पनि बैठकमा छलफल गरेको जनाइएको छ । प्रदेश कमिटीको बैठकमा प्रदेश अध्यक्ष कर्ण थापा, इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज नारदमुनि राना, निरुपाल, प्रदेश सचिव राजेन्द्रसिंह रावल लगायतको उपस्थिति रहेको थियो । एमालेको मंगलबारको बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको छ । प्रदेश कमिटीको उपसचिवमा भागरती विष्ट र बलदेव रेग्मीलाई चयन गरिएको छ ।