भिजेको धानबाट चामलको सट्टा कनिका
2021/11/10, 6:27
 
dd

कैलारी गाउँपालिका–९, सामरचौराकी मीना चौधरी धान कुटाउन मिलमा गइन्।असोज अन्तिम साताको वर्षाले भिजेको धान सुकाइवरी मिलमा कुटाउँदा चामलको सट्टा कनिका निस्क्यो।

‘घरमा चामल सकिएको थियो,’उनले भनिन्,‘धान कुटाउँदा चामल निस्केन,सबै कनिका।’ उनको ११ कट्ठा जमिन धान दसैंपछिको झरीले भिजाइदिएकाले त्यसबाट कनिका मात्रै निस्कने भएको छ। ‘वर्षभरि खानुपर्ने धान सबै भिज्यो,’उनले भनिन्,‘कुटाउँदा कनिका निस्क्यो, अब के खाने होला ’

मीनाको मात्रै होइन,अहिले कैलाली–कञ्चनपुरका किसानको भिजेको धान सुकाएर कुटाउँदा चामलको सट्टा कनिका निस्किरहेको छ।कनिकाको भात पकाउँदा छोराछोरीले नखाएको भन्दै उनले थपिन्,‘आफू त जसोतसो खाइन्थ्यो, छोराछोरीहरू खानै मान्दैनन्।’

भिजेको धान बेचेर चामल किन्न खोज्दा मूल्य समेत नपाउने गरेको उनले गुनासो पोखिन्। ‘पानी भिजेको धान बेच्न गएको क्विन्टलको एक हजार रूपैयाँ दिन्छु भनेपछि फर्केर आएँ,’मीनाले सुनाइन्।गत वर्ष २२ सय रूपैयाँ क्विन्टलका दरले धान बेचेको सम्झँदै मसुरियाका रणबहादुर बमले भने, ‘यसपालि त भिजेको धान भन्दै गल्लावालाहरू एक हजार रूपैयाँमा देऊ भन्छन्।’

भिजेको धान सुकाइवरी कुटाउँदा कनिका निस्केको उनले बताए। ‘यसपालि धान बचाउन सकिएन, कनिकाकै भात खानुपर्ने भयो,’उनले भने। उनले पनि भिजेको धानले मूल्य पनि नपाएको गुनासो गरे। भन्छन्–‘बेचौं भने सस्तोमा किन्न खोज्छन्,नबेचौं चामल निस्कँदैन,जम्मै कनिका मात्रै१’

बेमौसमी वर्षाले कैलाली र कञ्चनपुरमा काटेर भित्र्याउन सुकाएको धानबालीलाई ठूलो नोक्सान पुर्‍याएको थियो। बालीमा रोग र अन्य समस्या नभए पनि पानीले भिजेपछि किसानलाई वर्षभरी खाद्यान्न कसरी जोहो गर्ने भन्ने चिन्ता थपिएको प्रदेश कृषि निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीले बताए। उनले भने,‘यसपालि किसानले काटेको धान भित्र्याउन नपाउँदै खेतमै भिज्यो।’

कैलालीमा ७० हजार हेक्टर र कञ्चनपुरमा ४४ हजार हेक्टरमा धान खेती छ। कैलाली र कञ्चनपुर धान खेतीका लागि पकेट क्षेत्र रहे पनि यसपटकको पानीले हजारौं हेक्टरको धान नष्ट पारेको उनले बताए।‘काटेर सुकाउन राखेको धान भिजेकाले कुटाउँदा चामल टुटेर कनिका हुने र भात खाँदा पुरानो जस्तो बास्ना आउने समस्या देखिन सक्छ,’ उनले भने।

प्रारम्भिक आंकडा अनुसार कैलालीमा मात्रै ५० प्रतिशत धान पूर्ण रूपमा नष्ट भएको उनले जानकारी दिए। ‘५० प्रतिशत क्षेत्रफलको धानमा पूर्ण र ३० प्रतिशत धानमा आंशिक क्षति भएको छ।बाँकी २० प्रतिशत मात्रै किसानले भित्र्याउन पाए,’उनले भने। उनका अनुसार कैलालीमा मात्रै साढे चार अर्ब रूपैयाँ बराबरको धान नष्ट भएको तथ्यांक छ।‘स्थानीय तहले संकलन गरेको तथ्यांक हेर्दा कैलालीमा मात्रै साढे चार अर्ब रूपैयाँ बराबरको क्षति भएको छ,’उनले भने।