नेपाली कांग्रेसको महाधिवेशन: कैलालीमा तयारी तीव्र
2021/11/11, 6:44
 
aa

नेपाली कांग्रेस कैलालीले आसन्न वडा अधिवेशनको तयारी तीव्र बनाएको छ । आगामी २७ गतेदेखि कैलालीलगायत १३ जिल्लामा वडा अधिवेशन हुने मिति नजिकिएसँगै कैलाली कांग्रेसले वडासहित जिल्ला अधिवेशनका लागि तयारी तीव्र पारेको हो । यसैबीच, अधिवेशनसम्बन्धी तयारीका लागि बुधबार कांग्रेस कैलालीले धनगढीमा बृहत् भेला आयोजना गरेको थियो ।

बृहत् भेलाको सो बैठकले अधिवेशनलाई भव्य तथा सभ्य, एकता, मेलमेलाप, सहमति, सहकर्य र सहअस्तित्वलाई आत्मासात् गरी सबै प्रक्रिया विवादरहित ढंगले सम्पन्न गर्ने सहमति भएको जिल्ला अधिवेशन प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनारले बताए ।

‘अधिवेशनलाई सफल बनाउन निर्वाचन प्रतिनिधि टेकप्रसाद सुवेदीको सहभागितामा सबैसँग छलफल गरिएको हो’, उनले भने, ‘जिल्लाका सबै वडा र नगरमा निर्वाचन अधिकृतलाई खटाउन अभिमुखीकरण पनि गरिसकिएको छ ।’ उनले जिल्लाका पहाडी क्षेत्र र टाढा रहेका वडा तथा नगरमा बुधबार नै निर्वाचन अधिकृतलाई खटाइसकिएको बताए ।

बुधबार बसेको बैठकमा जिल्ला अधिवशेनका लागि खटिएका केन्द्रीय निर्वाचन प्रतिनिधि टेकप्रसाद सुवेदी, पार्टी केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य, प्रतिनिधिसभा उम्मेदवार, पूर्वजिल्ला सभापति, प्रदेशसभा सदस्य, पूर्वसांसद, पूर्वजिविस सभापति, उपसभापति, जिल्ला पदाधिकारी, सदस्य, क्षेत्रीय सभापति, प्रदेशसभा सभापति, प्रदेशसभा उम्मेदवार, नगर, गाउँपालिका सभापति, नगर/गाउँपालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष उम्मेदवार, भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्ष, सभापतिलगायतको सहभागिता थियो ।

केन्द्रीय कार्यालयले जिल्लामा कार्तिक २७ गते वडा, कार्तिक ३० गते पालिका अधिवेशन, मंसिर ३ गते प्रदेशसभा अधिवेशन, मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्लाको मिति तय गरेको थियो । यसअघि कार्तिक ६ गतेको जिल्ला कार्य सम्पादन समितिको निर्णयअनुसार जिल्ला सभापति नरनारायण शाहको अध्यक्षतामा एक हजार पाँच सय एक सदस्यीय जिल्ला अधिवेशन मूल व्यवस्थापन समिति गठन गरिसकेको छ । मूल समितिलाई सहयोग गर्न ११ जना सयोजक रहने गरी विभिन्न समिति निर्माण गरिएको छ ।

जसमा आर्थिक व्यवस्थापन समिति सयोजक– शेरबहादुर देउवा, अधिवेशन प्रचारप्रसार समिति सयोजक– नृपबहादुर सुनार, स्वयंसेवक समिति सयोजक– कृष्ण पाण्डे, आवास व्यवस्थापन समिति सयोजक– केशव मिश्र, भोजन व्यवस्थापन समिति सयोजक– नारायण सत्याल, यातायात व्यवस्थापन समिति सयोजक– टेकराज जोशी, प्राथमिक उपचार समिति सयोज– उत्तम जोशी, मञ्च व्यवस्थापन समिति सयोजक– पुरन चौधरी, अतिथि सत्कार समिति सयोजक– रेखा देवकोटा, सचिवालय व्यवस्थापन समिति सयोजक– कमला शर्मा र निर्वाचन व्यवस्थापन समिति सयोजक नवराज रावललाई तोकिएको छ ।

बैठकले जिल्ला अधिवेशनको स्थान मेनरोड धनगढीमा अवस्थित ओम प्यालेसमा गर्ने निर्णय गरेको छ ।