सुदूरपश्चिमका ३८० वडामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन
2021/11/22, 5:18
 
aa

 नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ३ सय ८० वडामा सम्मेलन सम्पन्न गरेको छ । उक्त वडाहरुमा झण्डै १० हजार सदस्यीय कमिटि गठन गरिएको छ ।

सम्मेलन सम्पन्न भएका ३ सय ८० वडाका कमिटिमा कुल ९ हजार ९ सय २७ जना अटाएको माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष शरदसिंह भण्डारीले आइतबारसम्म ३ सय ८० वडामा सम्मेलन सम्पन्न गर्दै सर्वसम्मत रुपमा वडा कमिटि चयन गरिएको जानकारी दिए ।

भण्डारीका अनुसार कैलालीका १ सय २३ वडामा अध्यक्ष, उपाध्यक्ष सहितका पदाधिकारी समेत गरेर २ हजार ४ सय ७४ सदस्यीय कमिटि चयन गरिएको छ भने कञ्चनपुरका ४३ वडामा १ हजार २ सय ४७ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको छ ।

उनले डोटीका ३७ वडा र बझाङका ३७ वडामा सामान १ हजार ३७ सदस्यीय कमिटि चयन गरिदा दार्चुलाका ३६ वडामा १ हजार ४४ सदस्यीय कमिटि बनेको छ । बैतडीका ३३ वडामा ९ सय ५७, डडेल्धुराका २९ वडामा ८ सय ४१, बाजुराका २८ वडामा ८ सय १२ र अछामका १४ वडामा ४ सय ६ सदस्यीय वडा कमिटि सर्वसम्मत भएको छ ।

८८ स्थानीय तहका कुल ७ सय ३४ वडा रहेको सुदूरपश्चिममा ३ सय ८० मा वडा सम्मेलन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरिएको माओवादी केन्द्रले जनाएको छ । बाँकी रहेका तीन सय ५४ वडामा सर्वसम्मत रुपमै नेतृत्व चयन गर्ने गरेर सम्मेलन जारी राखिएको छ ।

प्रदेश अध्यक्ष भण्डारीले मंसिर ८ गतेभित्र वडाको सम्मेलन सम्पन्न गरेर ११ गते पालिकास्तरको सम्मेलन गर्ने कार्यसूची तय गरिएको बताए ।