डडेल्धुरामा 'एकलौटी' अधिवेशन गरेको भन्दै सानेपामा नाराबाजी
2021/11/22, 5:23
 
dad

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षबिना नै आज सातौं अधिवेशन सुरू भएको छ।

सभापति मल्लसहित नेताहरू भने ६ दिनदेखि केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा छन्। जिल्लाबाट पठाएको क्रियाशील सदस्यताको सूची हटाएर केन्द्रबाट नयाँ नाम थपेपछि मल्लसहित उनी पक्षले डडेल्धुरा अधिवेशनमा भाग लिन मानेको छैन् ।

भदौ २५ गते देउवा पक्षले डडेल्धुरामा राज्य शक्तिको दुरूपयोग गर्दै एकलौटी हिसाबले वडा अधिवेशन गरेको आरोप मल्ल पक्षको छ।नयाँ क्रियाशील सदस्यको सूची जारी गर्न मागसहित भदौ २२ गतेदेखि मल्ल पक्ष आन्दोलनमा उत्रिएको छ ।  

उनीहरूको विरोधबीच नै वडा अधिवेशन पालिका, प्रदेश सभा क्षेत्र हुँदै प्रतिनिधि सभा क्षेत्र अधिवेशन सकिएको छ । जिल्ला अधिवेशन आज भइरहेको छ। डडेल्धुरामा एकलौटी अधिवेशन भएकोमा वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध गरेका थिए। पौडेल पक्षले केन्द्रीय निर्वाचन समितिलाई डडेल्धुरामा फेरि वडा अधिवेशन गर्न माग गरेको थियो। तर सुनुवाइ हुन सकेको छैन् ।  

आफ्नो जिल्लाका नेता, देउवा केन्द्रीय सभापति भएका बेला अधिवेशनमै भाग लिन बञ्चित गरेको मल्ल पक्षका नेता-कार्यकर्ता गुनासो गर्दै आईरहेका छन् । कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंग्याएरमात्रै अन्य जिल्लामा अधिवेशन गरे पनि डडेल्धुरामा विवाद कायमै राखेर अधिवेशन भइरहेका छन्।

डडेल्धुरामा आज जिल्ला अधिवेशन भइरहेका बेला कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भने नाराबाजी चलेको छ ।आज बिहान १० बजेतिर सानेपामा आन्दोलनकारी ‘डडेल्धुरामा भएको अवैधानिक अधिवेशन खारेज गर, निकम्मा निर्वाचन समिति मुर्दावाद, पार्टीभित्रको एकतन्त्रीय शासन मुर्दावाद, तानाशाही होसियार’जस्ता नारा लगाएका थिए।

सभापतिमा साउँद र ठकुराठीको उम्मेदवारी

जिल्ला सभापतिका लागि परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँद र नेता चुडामणी ठकुराठीले मनोनयन दर्ता गरेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार मनोनयन दर्ताको समय सकिएको छ भने अहिले नामावली प्रकाशन भइरहेको छ।

आजै नयाँ नेतृत्व चयनका लागि मतदान हुने बमले बताए।  वर्तमान सभापति कर्ण मल्ल समूह भने अधिवेशनमा सहभागी छैन।