पुर्खाको बिँडो थाम्दै कांग्रेसको राजनीतिमा उदाएका यी नेत्रीहरू
कांग्रेसमा महिला नेतृत्व
2021/11/28, 10:36
 
ss

केही दिनयता राजनीतिक क्षेत्र अधिवेशनमय भएको छ । चाहे नेपाली कांग्रेसको होस् वा नेकपा एमाले र माओवादी केन्द्र । प्रमुख दलहरू आन्तरिक अधिवेशनमा छन् ।

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलाली जिल्लामा नेपाली कांग्रेसको जारी अधिवेशनमा नातिनातिनीपुस्ता अग्रपंक्तिमा देखिएका छन् । त्यसभित्र पनि महिला नेत्रीहरू फराकिलो मतान्तरका साथ नेतृत्वमा आएका छन् ।

कैलालीको ३ नम्बर निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा तेस्रो पुस्ताकी रीता चौधरी अत्यधिक मतले निर्वाचित भएकी छिन् । घोडाघोडी नगरपालिका–१० थेवैकी ४२ वर्षीया रीताकुमारी चौधरी फराकिलो मतान्तरका साथ क्षेत्रीय सभापतिमा निर्वाचित भएकी हुन् । उनले ३०८ मत पाएकी छन् भने निकटतम प्रतिद्वन्द्वी गोकेन्द्र भण्डारी १५३ मतमा सीमित भएका छन् ।

चौधरीका बाजे बीपी कोइरालाताकादेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा थिए । उनका बाजे कुकाली डंगौरा थारु कांग्रेसको राजनीतिमा सक्रिय थिए । त्यसपछि उनका बुवा सुखराम डंगौरा थारु नेपाली कांग्रेसबाट तत्कालीन पहलमानपुर गाविस सभापतिमा ३ कार्यकालसम्म नेतृत्वमा रहे ।

अब तिनै बाजे र बुवाको बिँडो थाम्दै उनी क्षेत्रीय सभापतिमा आएकी हुन् । यसअघि उनी नेपाली कांग्रेसको १२औं महाअधिवेसनमा क्षेत्रीय प्रतिनिधि भएकी थिइन् भने १३औं महाधिवेशनमा महासमिति सदस्य भएकी थिइन् । २०७४ सालमा स्थानीय तह निर्वाचनमा घोडाघोडी नगरपालिकाको मेयरको उम्मेदवार बनेकी थिइन् तर हार व्यहोरेकी थिइन् ।

उनी भन्छिन्, ‘यो हाम्रो आन्तरिक प्रतिस्पर्धा हो । सबैले माया, विश्वास गरेर मलाई निर्वाचित गर्नुभएको छ । सभापति आइसकेपछि म सबैलाई मिलाएर जान्छु । पार्टीलाई अझ सशक्त बनाउनेमा मेरो भूमिका रहन्छ ।’

 

रीता चौधरीरीता चौधरी

कैलालीको ५ नम्बर निर्वाचन क्षेत्रमा पतिको निधनपछि रीता भण्डारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । २२० मत ल्याएर निर्वाचित उनी कांगे्रस नेता तथा धनगढी नगरपालिकाका तत्कालीन मेयर स्व. किशोरकुमार बमकी पत्नी हुन् ।

कैलालीको ५ नम्बर निर्वाचन क्षेत्रबाटै निपा चोखाल पनि अत्यधिक मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । चोखाल २८७ मत ल्याएर निर्वाचित भएकी हुन् । चोखाल नेपाली कांग्रेसका नेता तथा पूर्व कानूनमन्त्री स्व. टेकबहादुर चोखालकी छोरी हुन् । 

नेपाल ल क्याम्पसबाट बीए एलएलबी गरेकी ३८ वर्षीया निपा आफ्ना बुवाको पदचापलाई पछ्याउँदै राजनीतिमा आएकी हुन् । उनले आफ्नो जीतलाई स्व. बुवाप्रतिको सम्मानका रूपमा लिएकी छन् । 

‘गुलेली दिदी’ महाधिवेशन प्रतिनिधि

कैलालीको २ नम्बर निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा टीकाकुमारी चौधरी (४६) निर्वाचित भएकी छन् । जानकी गाउँपालिका–२ खर्गौली जन्म घर भएकी उनी कैलालीको साविक जानकीनगर गाविस अध्यक्ष लक्ष्मीनारायण चौधरीकी छोरी हुन् । 

२०४०–५० सालतिर लक्ष्मीनारायण चौधरी २ कार्यकालसम्म अध्यक्ष रहेका थिए । उनै लक्ष्मीनारायण चौधरीकी छोरी टीका चौधरी कांग्रेसको सम्पन्न अधिवेशनमा २९२ मत ल्याउँदै निर्वाचित भएकी छन् ।

नेपाली कांग्रेसको राजनीतिमा उनी गुलेली दिदीको नामले समेत परिचित छिन् । उनी २०६२/२०६३ सालको जनआन्दोलनतिर गुलेली चलाएर जनआन्दोलनमा सहभागी भएको बताउँछिन् । त्यसैले उनी गुलेली दिदीको नामले परिचित भइन् ।

२०६४ सालमा पद्म कन्या क्याम्पसको स्ववियू सभापति तथा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य समेत भइसकेकी उनी नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सभापति तथा नेपाली कांग्रेसका नेता कल्याण गुरुङकी पत्नी समेत हुन् । 

आफ्नो भावी राजनीतिक योजना सुनाउँदै उनी भन्छिन्, ‘क्षेत्र नम्बर २ मा मेरो बुवा कांग्रेसको खम्बा नै हुनुहुन्थ्यो । उहाँको सपना र चाहना पनि छोरी राजनीतिमा आओस् भन्ने थियो । मेरो रुचि पनि हो । सबैको सल्लाहअनुसार म अब आउँदो निर्वाचनको तयारीमा पनि छु ।’