काँँग्रेस अधिवेशनः सुदूरपश्चिममा सभापति देउवाको दबदबा
2021/11/30, 2:07
 
aa

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिमका सात जिल्लामा काँग्रेसको अधिवेशन सम्पन्न भएको छ । देउवाको गृहजिल्ला डडेल्धुरा सहित कञ्चनपुर, डोटी, बैतडी, बझाङ, दार्चुला र बाजुरामा अधिवेशन सम्पन्न भएको हो।

डडेल्धुरा, डोटी, कञ्चनपुर र बझाङमा संस्थापन अर्थात पार्टी सभापति शेरबहादुर देउवा पक्षले जिल्ला सभापति जितेको छ। यस्तै बैतडी, दार्चुला र बाजुरामा संस्थापन इतर अर्थात पौडेल पक्षले जिल्ला सभापति जितेको छ।  देउवा पक्षबाट डोटी जिल्ला सभापतिमा नरेन्द्रबहादुर सिंह, डडेल्धुरामा भीमबहादुर साउँद, बझाङमा खडकबहादुर बोहरा र कञ्चनपुरमा पदम बोगटी जिल्ला सभापतिमा विजयी भएका छन्। 

पौडेल पक्षबाट बैतडीमा चतुरबहादुर चन्द, बाजुरामा रामसिंह रावल र दार्चुलामा ललित बोहरा विजयी भएका छन्। ५ निर्वाचन क्षेत्र भएको कैलाली र २ निर्वाचन क्षेत्र भएको अछाम जिल्लामा भने जिल्ला अधिवेशन हुन सकेको छैन। 

९ जिल्लाबाट चार सय जना महाधिवेशन प्रतिनिधि र ५ सय ४४ जना प्रदेश प्रतिनिधि निर्वाचित भएका छन्। महाधिवेशन र प्रदेश प्रतिनिधिमा पनि संस्थापन पक्षको पकड छ। १८ र १९ गते हुने प्रदेश अधिवेशन मूल आयोजक समितिका संयोजक तथा काँग्रेस कैलालीका सभापति नरनारायण शाहका अनुसार सुदूरपश्चिममा ७० प्रतिशत महाधिवेशन प्रतिनिधि देउवा पक्षका विजयी भएका छन्।