देउबाको गृह प्रदेशमा शक्ति बढाउदै पौडेल, ७ मा ३ जिल्ला सभापति कब्जा !
2021/11/30, 5:04
 
da

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबारसम्म सुदूरपश्चिमका ७ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष (संस्थापन) ले सुदूरका ७ मध्ये ४ जिल्लामा जित निकालेको छ । संस्थापन इतर समूहले ३ जिल्लामा सभापति जितेको छ । 

अछाम र कैलालीमा भने जिल्ला अधिवेशन स्थगित भएका छन् । कञ्चनपुरमा देउवा समूहका पदम बोगटी, डोटीमा नरेन्द्रबहादुर सिंह, डडेल्धुरामा भीमबहादुर साउद र बझाङमा खड्क बोहरा निर्वाचित भएका छन् ।

यस्तै बाजुरामा रामसिंह रावल, बैतडीमा चतुरबहादुर चन्द र दार्चुलामा ललितसिंह बोहरा निर्वाचित भएका छन् । यी तीनै जना संस्थापन इतरका हुन् । अधिवेशन सम्पन्न भएका जिल्लामा वडा, स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भई जिल्ला कार्यसमिति चयन भएको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार मंसिर १८ र १९ गते तोकिएको प्रदेश अधिवेशन पछि मात्र रोकिएका जिल्लामा निर्वाचन प्रकृया अगाडी बढनेछ ।

यस्तै देशभर ५७ जिल्लामा नयाँ नेतृत्व चयन हुँदा संस्थापन समूह बलियो अवस्थामा देखिएको छ । संस्थापन पक्षले २९ जिल्लामा नेतृत्व हात पारेको दावी गरेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले २६ जिल्लामा सभापति जितेको छ भने कांग्रेसभित्र तेस्रो धारका रुपमा चिनिने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले २ जिल्लामा जित हात पारेको दाबी गरेको छ ।