सुदूरपश्चिम कांग्रेसमा रोमाञ्चक बन्दै भिडन्त, आधादर्जन आकांक्षी 
2021/12/02, 4:49
 
aa

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन औपचारिक रुपमा आजदेखि शुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा प्रदेश सभापतिका छ जना आकांक्षी उम्मेदवारहरु देखिएका छन् । 

कांग्रेसको १४ औं महाधिवेशनको रौनकले देशभर माहोल तातिरहेका बेला सुदूरपश्चिममा पनि आकांक्षीहरुले आ –फ्नो उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको सभापति पदमा उम्मेदवारी घोषणा गर्नेहरुमा नारायण शाह ‘मनु’ कैलाली, अर्जुनजंगबहादुर सिंह बझाङ , गोविन्दबहादुर शाह अछाम, हिमबहादुर रावल कैलाली, पुष्पकुमार शाही डोटी र गोविन्दराज बोहरा डडेल्धुरा रहेका छन् । 

२०५० सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता, ०५४ मा तरुण दल सचिव हुँदै ०५६ मा तरुण दल कैलालीको अध्यक्ष बन्दै ०५८ मा पार्टी सहसचिव बनेका नरनारायण  शाह १२ औं र १३ औं महाधिवेशनबाट कैलालीको दुई कार्यकाल सभापति रहिसकेका हुन् । 

प्रदेश सभापतिका आकांक्षी उम्मेदवार अर्जुनजंगबहादुर सिंह ०३६ देखि नेविसंघको राजनीतिबाट कांग्रेसको राजनीतिमा उदाएका हुन् । ०४२ सालमा नेविसंघ केन्द्रीय उपाध्यक्ष बनेका सिंह बझाङ जिल्लाबाट २ पटक सांसद, एक पटक सहायक मन्त्री र राज्यमन्त्री तथा ०७४ मा राजदूत रहिसकेका छन् । 

त्यस्तै सुदूरपश्चिम प्रदेशका सभापतिका अर्का आकांक्षी गोविन्दबहादुर शाह अछामबाट २ पटक सांसद, एकपटक राज्यमन्त्री रहेका थिए । शाह २०३६ सालदेखि नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा छाएका हुन् । कैलालीका हिमबहादुर रावल पनि प्रदेश सभापतिका आकांक्षी देखिएका छन् । ०४८ सालमा पार्टीको क्रियाशील सदस्य बनेका रावल नेपाल एयरलाइन्सका निर्देशकसमेत रहिसकेका हुन् ।
 
सुदूरपश्चिम प्रदेश अधिवेशन शुरु भएसँगै उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम बढेसँगै डोटीका पुष्पकुमार शाहीले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । नेविसंघको राजनीतिबाट उदाएका शाही नेविसंघको केन्द्रीय उपाध्यक्ष रहिसकेका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेश सभापतिका आकांक्षीहरुमा डडेल्धुराबाट प्रदेश सभा सदस्य गोविन्दराज बोहरा पनि रहेका छन् ।