काँग्रेस सुदूरपश्चिम अधिबेशन: संस्थापन पक्षबाट वीरबहादुर बलायर सभापति उम्मेदवार
2021/12/03, 4:33
 
dd

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा संस्थापन पक्षबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर उम्मेदवार चयन भएका छन।संस्थापन पक्षका नेताहरुको छलफलपछि पूर्वमन्त्रीसमेत रहेका बलायर प्रदेश सभापतिको उम्मेदवारमा चयन भएका हुन। बलायरलाई नै सर्वसम्मतरुपमा प्रदेशको सभापति बनाउनुपर्नेमा अधिकांश नेताहरुले जोड दिएका थिए।

बलायरले पनि नेताहरुको आग्रहलाई स्वीकार गरेको बताएका छन। नेता कार्यकर्ताको भावनाको कदर गरेर आफूले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेको बलायरले बताएका छन। उनले सुदूरपश्चिम प्रदेशमा पार्टीको संगठनलाई शसक्त बनाउन अघि सर्ने प्रतिवद्धता जनाएका छन ।

संस्थापन पक्षबाट उपसभापतिमा लोकराज अवस्थी (बैतडी), जनक चौधरी (कैलाली) महामन्त्री पदमा नरनारायण शाह (कैलाली), मेघराज खड्का (अछाम), सह-महामन्त्रीमा अम्बिका चलाउने (अछाम) र गोपालदत्त भट्ट (कञ्चनपुर) उम्मेदवार बनेका छन।सर्वसम्मतीबाटै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच छलफलसमेत भएको थियो तर प्रदेशमा कमजोर रहेको संस्थापन इतर पक्षले माग गरेको पद दिन संस्थापन पक्ष तयार नभएपछि दुबै पक्ष प्यानल बनाएर निर्वाचनमा उत्रिएका छन । दुबै पक्ष बलायरलाई सर्वसम्मत सभापति बनाउन तयार भएपनि पदाधिकारीमा कुरा मिलेको थिएन।

संस्थापन समूहमा प्रदेश सभापतिका लागि आधा दर्जन आकांक्षी रहेकामा नेताहरुले केन्द्रीय सदस्य बलायरलाई अगाडि सारेका हुन। संस्थापन इतर समूहबाट प्रदेश सभापतिमा नारायण मिश्र उम्मेदवार बनेका छन।सुदूरपश्चिम प्रदेशमा संस्थापन पक्ष बलियो रहेकाले बलायर नै प्रदेश सभापति बन्ने पक्कापक्की जस्तै रहेको कांग्रेस नेता कार्यकर्ताहरु बताउँछन ।प्रदेशमा शुक्रबार दिउँसो दुई देखि चार बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ। निर्वाचन कार्यतालिका अनुसार शनिबार मतदान हुने छ ।