सुदूरपश्चिमका गौरवका सडक योजनाको निर्माण अलपत्र
2020/05/12, 9:45
 
yojana

सुदूरपश्चिम प्रदेशको मन्त्री परिषदले प्रदेशका ९ जिल्लाका ९ सडकलाई प्रदेश गौरवका सडकको रुपमा विकास गर्ने निर्णय ग¥यो । सोही निर्णय अनुसार गत आर्थिक वर्षमा ९ सडकका केही क्षेत्रको विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार भयो । त्यसैगरी चालु आर्थिक वर्षमा सडक निर्माणका लागि ४३ कारोड रकम विनियोजन गरिएको छ । तर कोरोना भाइरस(कोभिड–१९) को संक्रमणको जोखिम बढेको भन्दै लकडाउन (बन्दाबन्दी) गरिएपछि सडक निर्माणका योजना अलपत्र परेका छन् । पूर्वाधार कार्यालयहरुले भौतिक पूर्वाधार विकास मन्त्रालयसँग स्वीकृति पनि लिन बाँकी र केहि सडकको ठेक्का सम्झौताका लागि सूचना प्रकाशन गरिएको भएपनि सम्झौता भएका छैनन् । सूचना प्रकाशन गरेका सडकको पनि समय अवधि थपिँदै लगिएको छ। पूर्वाधार कार्यालयहरु त्यसबारे आफै अन्यौलमा रहेका छन । 

कैलालीको भजनी छोटी भन्सारदेखि खिमडी, ठूलीगाड सडक  सुदूरपश्चिम सरकारले प्रदेश गौरवको योजनामा राखेको छ। उक्त योजनाका लागि चालु आर्थिक वर्षमा तीन करोड  विनियोजन पनि गरिएको छ । २४ किलोमिटरको विस्तृत योजना प्रतिवेदन (डिपिआर) निर्माण गर्दै २० करोडको बहुवर्षीय ठेक्काको तयारीमा पुर्वाधार कार्यालय कैलाली छ । तर सूचना प्रकाशनको काम भने भएको छैन् । चालु आर्थिक वर्षमा विनियोजन गरिएको तीन करोड खर्च हुने भएपनि काम न्युन हुने पूर्वाधार कार्यालय कैलालीका प्रमुख श्यामबहादुर खड्काले बताए । कञ्चनपुरको दैजी, बेतकोट, डडेल्धुराको जोगबुढा, चिरकिट्टे, घटाल, बेलापुर र बझाङको ढुंगाड हुँदै उत्तर चीनको नाका जोड्ने सडकलाई पनि प्रादेशिक गौरवको सडकमा राखिएको छ । उक्त योजनाको लागि चालु आर्थिक वर्षमा तीन करोड विनियोजन गरिएको छ । 
कलुवापुरदेखि साढे पाँच किलोमिटर सडक कालोपत्रेका लागि २५ करोडको टेन्डर प्रक्रियामा पूर्वाधार कार्यालय कञ्चनपुर छ । तर टेन्डरको काम रोकिएको छ ।

लकडाउनका कारण सडकको टेन्टर पनि स्वकृत गर्न बाँकी रहेको पूर्वाधार कार्यालय कञ्चनपुरका प्रमुख धिरेन्द्र भट्टले बताए । चालु आर्थिक वर्षमा भने तीन करोड मात्र पूर्वाधार कार्यालय कञ्चनपुरलाई दिइएको छ। त्यस्तै अछामको जंगलघाट, तुर्माखाद, गैरटाड, कालागाउँ, दर्ना, माझठाना, जयगढ, नन्देगडा, मेल्लेक षोडशा, ऋषिदह हुँदै बाजुराको बडिमालिका जोड्ने सडकलाई पनि प्रदेश गौरबको सडकमा राखिएको छ। अछाममा २३ किलोमिटर सडकको स्तरबृद्धिका लागि १९ करोडको ठेक्काको प्रक्रिया थालिएको छ । चालु आर्थिक वर्षमा १० करोड रकम पूर्वाधार कार्यालय अछामका लागि विनियोजन गरिएको छ । पूर्वाधार कार्यालय अछामका प्रमुख झंकर थापाले दुई गाडी सञ्चालनका लागि सडक स्तर बृद्धिको योजना रहेको बताए । 


बाजुरामा पनि १५ किलोमिटर सडकको स्तरवृद्धि गर्ने योजना प्रदेश सरकारको छ। बाजुराका लागि साढे ६ करोड विनियोजन गरिएको छ। मार्तडीदेखि खप्तडसम्म झण्डै ६० किलोमिटर छ । तर पूर्ण सडक नापिएको छैन्। विस्तृत योजना प्रतिवेदन समेत निर्माण नगरिएको प्रमुख थापाले बताए । दार्चुलाको देउथला, खार, खलंगा, लठिनाथ, पारीबगर, खण्डेश्वरी हुँदै उत्तर चीन नाका छुने सडक र बैतडीको सदबाज, श्रीभावर, हाट, दार्चुला सडकलाई पनि प्रदेश गौरवको योजनामा राखिएको छ । झण्डै सय÷सय किलोमिटर लम्बाई रहेका सडकको दार्चुलामा २० र बैतडीमा १८ किलोमिटर सडकको चालु आर्थिक वर्षमा ठेक्का गर्ने योजनामा पूर्वाधार कार्यालय बैतडीको छ । यस्तै दार्चुलाको खलंगा, खार, देथला, पारीबगर सडकलाई प्रदेश गौरवको योजनामा राखिएको छ । चालु अर्थिक वर्षमा दुई खण्डमा २० किलोमिटर कालोपत्रेको योजना छ तर ठेक्का सम्झौता भएको छैन् । 

डडेल्धुरामा १६ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौतको प्रक्रियामा छ। लेखनाथ, जोगबुढा, पोखरा, ढुंगाड, बझाङ सडकलाई प्रदेशिक गौरवको सडकमा राखिएको छ । पोखरादेखि बेलापुर सम्म १० किलोमिटर सडकको ४४ करोडको कालोपत्रेका लागि निर्माण सम्झौता गरिने छ ।  र सलेनादेखि माथि ६ किलोमिटर सडक स्तर वृद्धि गर्ने योजना छ । त्यसका लागि झण्डै ९ करोडको ठेक्काको प्रकियामा रहेको  छ । त्यस्तै डोटीमा १२ किलोमिटर कालोपत्रे र १० किलोमिटर सडकको ट्रयाक खोल्नका लागि ठेक्का सम्झौताको तयारी थालिएको छ । डोटीको सहजपुर, बोगटान, दीपायल सडक ३४ करोडमा १२ किलोमिटर र १० करोडमा छिडिखान, बडीकेदार, अत्तरकाडा १० किलोमिटर सडकको ट्रयाक खोल्ने तयारी थालिएको छ । तर दुवै सडकको ठेक्का भएको छैन् । पूर्वाधार कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र कार्कीले सूचना प्रकाशन समेत नगरिएको बताए । तर मन्त्रालयबाट स्वकृत भएको उनले जानकारी दिए । उता बझाङमा १४ किलोमिटर सडक निर्माण स्तरबृद्धिका लागि ठेक्का गर्न प्रक्रिया थालिएको छ । चालु आर्थिक वर्षमा १० करोड प्रदेश सरकाले विनियोजना गरेकोमा १७ करोडको ठेक्का गर्ने योजनामा पूर्वाधार कार्यालय बझाङ छ । तर ठेक्का सम्झौतका लागि आवश्यक प्रक्रिया थालिएको छैन् । पुर्वाधार कार्यालय बझाङका प्रमुख नवराज रावलले पातिहाल्ला, जडार, पानकोट, सायपाल हुदैँ हुम्ला जिल्ला जोड्ने सय किलोमिटर सडकलाई प्रादेशिक गौरवको योजनामा राखिएको बताए । 


चालु आर्थिक वर्षमा १४ किलोमिटर स्तरबृद्धि हुने छ । नाली सहित स्तर बृद्धि गर्ने योजनामा पूर्वाधार कार्यालय बझाङ छ । ‘भौतिक पूर्वाधार विकास मन्त्रालयबाट काम गर्न जनरल  निर्णय पठाइएको छ । जिल्ला प्रशासनबाट पास पाएको छैन । सिडियो कार्यालयबाट जिल्ला भित्रका लागि पनि पास दिइएको छैन् । सुदूरपश्चिम प्रदेश सरकारले ९ जिल्लाका ९ सडकको नयाँ ट्रयाक निर्माण, स्तरबृद्धि  तथा कालोपत्रेका लागि चालु आर्थिक वर्षमा ४३ करोड विनियोजन गरेको छ । यो रकम प्रयाप्त नभएको पूर्वाधार निर्देशनालयका प्रमुख प्रेमदत्त भट्टले बताए । तर बहुवर्षीय योजनामा राखेर ९ वटै सडकको ठेक्काको प्रक्रिया थालिएको उनले बताए ।  सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालयले भने प्रादेशिक गौरवका सडकका योजनाहरुलाई अगाडी बढाउन निर्देशन दिइएको बताएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर शाहीले स्थानीय प्रसाशनसँगको समन्वयमा सडक निर्माणको काम गर्ने निर्देशन भएको बताए ।