मझगाउँ विमानस्थलमा निर्माण हुने संरचनाको शिलान्यास गर्ने तयारी
2022/01/04, 10:46
 
airport

कञ्चनपुरको मझगाउँ विमानस्थलमा निर्माण हुने संरचनाको पुस २८ गते शिलान्यास गर्ने तयारी भइरहेको छ । लामो समयदेखि बन्द रहँदा प्रयोगविहीन भएको विमानस्थल पुनः सञ्चालनका लागि आवश्यक संरचना निर्माणको शिलान्यास गरिने कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. दीपक प्रकाश भट्टले जानकारी दिए । 

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले विमानस्थलका संरचनाहरूको शिलान्यास गर्ने बताइएको छ । विमानस्थल पुनर्निर्माण कार्यमा सङ्घीय सरकारको ५०५, प्रदेश सरकारको २५५, भीमदत्त नगरपालिकाको १५५ र दोधारा चाँदनी नगरपालिकाको १०५ लगानी रहेको छ । सरकारले २७ करोड लागत अनुमानको ठेक्का आह्वान गरेको थियो । 

निर्माणको ठेक्का कान्छाराम केएस जेभी निर्माण सेवाले पाएको छ । विमानस्थल सञ्चालनका लागि १ हजार ५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्ड लगायत आवश्यक संरचना निर्माण गरिने छ । संरचना निर्माण सकिए लगत्तै महेन्द्रनगर–काठमाडौँ हवाई सेवा सुरु हुने बताइएको छ ।  

विमानस्थल पुनः सञ्चालनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हुँदादेखि नै सांसदद्वय डा।दीपक प्रकाश भट्ट र निरुदेवी पाल तथा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट लगायतले पहल गरेका थिए । ओली सरकारकै पालामा अगाडि बढेको विमानस्थल पुनः सञ्चालनको प्रक्रिया अहिले भौतिक संरचना शिलान्यासको चरणमा पुगेको छ ।