डोटीको दिपायल विमानस्थलको स्तरोन्नतिकालागी अध्ययन
2022/01/15, 3:55
 
dad

 डोटीको दिपायल विमानस्थलको स्तरोन्नतिकालागी नेपाल नागरिक उडड्यन प्राधिकरणको प्राविधिक टोलीले अध्ययन गरेको छ । दिपायल विमानस्थलको बिहीबार नेपाल नागरिक उड्ड्यन प्राधिकरणको प्राविधिक टोलीले विमानस्थल वरपरको जग्गा अधिग्रहण गर्ने जमिनको अवलोकन गरेर फर्किएको छ ।

पर्यटन मन्त्रालयले स्तरोन्नतीका लागि जग्गा अधिग्रहण गर्न १८ करोड बजेट विनियोजन गरेको छ । सोही बजेटको कार्यान्वयनका लागि प्राधिकरणका प्रबन्धक रत्नबहादुर श्रेष्ठको नेतृत्वमा टोली दिपायल आइपुगेको हो। प्राविधिक टोलीले दिपायल सिलगढी नगरपालिका प्रतिनिधि, समाजसेवी, नागरिक समाज, सञ्चारकर्मीसँग विमानस्थलको स्तरोन्नतिबारे राय सुझाव मागेको थियो ।

प्रबन्धक श्रेष्ठले दिपायल विमानस्थललाई थ्री सी वर्गको विमानस्थलका रूपमा स्तरोन्नति गर्न सबैको सहयोग चाहिने बताए । थ्री सी वर्गको विमानस्थलका रूपमा स्तरोन्नति गरेपछि दिपायलमा ७२ सिटे जहाज उडाउन सकिनेछ । अहिले दिपायल विमानस्थलको रन–वे जम्मा ४ सय ५० मिटर मात्र रहेकोमा स्तरोन्नतिका लागि १ हजार २ सय मिटर लम्बाइ चाहिने प्राविधिक टोलीको भनाइ छ । रन–वेको दुवैतर्फ गरी डेढ सय मिटर चौडाइ आवश्यक पर्ने टोली सदस्य नलविक्रम थापाले जानकारी दिए । अहिले ६५ मिटर मात्र चौडाइ छ ।

स्तरोन्नति गर्नुपरेमा अहिले विमानस्थल रहेको बायाँतर्फको एयरपोर्ट बजार पूरै विस्थापित हुन्छ भने दक्षिणतर्फ घटाल मन्दिरको छेउ र उत्तरतर्फ वडा नं. २ को कार्यालयको खोलासम्म अधिग्रहण गर्नुपर्ने प्रारम्भिक चरणमा देखिएको प्राविधिक टोलीले जानकारी दिएको छ । ‘अहिले नै ठ्याक्कै यस्तो भनेर भन्दैनौं, विभिन्न विकल्पहरू हामी अध्ययनपछि प्रस्तुत गर्छौं,’ प्राविधिक थापाले भने, ‘निर्माणपश्चात् विमानस्थलले सुदूर पहाडमा विभिन्न सम्भावनाका ढोकाहरू खोल्नेछ ।’प्राविधिक टोलीले सर्वसाधारण, नागरिक समाजको सहयोगमा उच्चस्तरको राजनैतिक सहमति भएमा उचित मुआब्जा दिएर विकल्पहरू खोजिने जनाएको छ ।