सुदूरपश्चिमका बाढीपीडित किसानले ३ महिनासम्म पनि पाएनन् राहत
2022/01/17, 11:30
 
ss

गत असोज ३१ देखि कात्तिक ५ गतेसम्म परेको बेमौसमी वर्षाका कारण कैलाली र कञ्चनपुरका किसानको धान तथा तरकारी बालीमा ठूलो क्षति भयो। दुई जिल्लामा मात्रै ३ अरब ७३ करोडको क्षति भएको तथ्याङ्क छ। तर धान तथा तरकारी बालीमा क्षति व्यहोरेका किसानले हालसम्म कुनैपनि सरकारबाट राहत पाएका छैनन्। 

संघीय सरकारले कात्तिक ११ गते नै राहत दिने निर्णय गरेको छ। धानबालीमा क्षति व्यहोरेका किसानलाई संघ र तरकारीमा क्षति भएका किसानलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने भनिएको थियो। साना, ठूला र मध्यम गरी तीन चरणमा किसानको वर्गीकरण समेत गरिएको छ। ठूला किसानलाई क्षतिको ६० प्रतिशत, मध्यम किसानलाई ३० तथा साना किसानलाई २० प्रतिशत राहत दिने गरी कार्यविधि छ। तर क्षति भएका कुनैपनि प्रकारको राहत पाउन सकेका छैनन्। 

सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले कुनै पनि किसानले राहत नपाएको बताए। उनले भने, ‘हामीले तरकारी किसानलाई राहत दिने भनेका छौ। संघले धान खेतीमा भएको क्षतिको राहत दिने हो। जिल्ला प्रशासन मार्फत तथ्याङ्क केन्द्र पठाउनु पर्ने हो। तर अझै तथ्याङ्क पठाइएको छैन।’

किसानलाई समयमा राहत दिनुभन्दा सुदूरपश्चिम प्रदेश सरकार भने अझै लगत संकलन र प्रक्रिया मिलाउनमै अलमलिरहेको छ। विवरण सङ्कलनमा ढिलो भएकाले ढिलै जिल्ला प्रशासनमार्फत तथ्याङ्क केन्द्र पठाइएको छ।  उता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले हालसम्म स्थानीय तहबाट तथ्याङ्क नआएको बताए। ‘एकपटक तथ्याङ्क आयो, तर पूर्ण थिए। फेरि संघले माग गरेअनुसार सङ्कलन गर्न भनेका छौ’, उनले भने।