पीसीआर मेसिनका लागि समाजसेवी खड्क सिंह पालद्धारा ५ लाख ५१ हजार सहयोग
2020/06/18, 5:15
 
korona

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि जारी सहयोग संकलन अभियानमा केएस कन्सट्रक्सन प्रा.लि.का अध्यक्ष खड्क सिंह पालले आफनी दिवगंत पत्नी स्वर्गीय पद्मा देवी पालको स्मृतिमा ५ लाख ५१ हजार १ सय ५१ रुपैया हस्तान्तरण गरेका छन् ।

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि थालिएको अभियानका बारेमा जानकारी पाएपछि समाजसेवी पालले स्वस्र्फुत रुपमा ५ लाख ५१ हजार १ सय ५१ रुपैया प्रदान गरेका हुन् । सुदूर पश्चिमकै अग्रणी निर्माण व्यवसायी पालले सुदूरपश्चिमका सात वटा पहाडी जिल्लामा पीसीआर मेसिनको अभावमा कोरोना परीक्षणमा कठिनाई भएपछि ह्युमानिटी फाउण्डेसन, सुदूर पश्चिम समाज अमेरिका र संसारका बिभिन्न मुलकमा रहेका सुदूरपश्चिमेली अगुवा र सुदूरपश्चिम समाजद्धारा डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि थालिएको अभियानको उच्च प्रशंसा गर्दै यो कार्यमा जोडिन पाएकोमा खुशी व्यक्त गरे ।

b

उमेरले ७८ कटेका पाल अभियानका टोलीको पर्खाईमा गेटमै पुगेका थिए ।  डडेल्धुराको अमरगढी नगरपालिका— ९ मा जन्मिएका पालले आफ्नो जन्मभूमि र आफ्नो प्रदेशका जनताको सेवाका लागि आवश्यक परे थप सहयोग गर्ने समेत प्रतिबद्धता गरे । 

ह्युमानिटी फाउण्डेसनका अध्यक्ष श्याम तायललाई ५ लाख ५१ हजारको चेक हस्तान्तरण गर्दै गर्दा पालले भतिजा डम्मर पाललाई छेउमा राखेर भन्न छुटाएनन, राजासंग सम्पत्ति कति थियो ? कति थिए, सेना ? ३ करोड त जनता नै थिए । आखिर राजा त जोगिएनन । न त उनलाई ती केही चिज काम लागे ? मरी लानु के छ र ?  जे कमाए, यही समाजबाट कमाए, कमाएको केही हिस्सा यो समाजका लागि दिन पाए, त्यसैमा सन्तुष्ट हुन्छु ।