कैलालीमा आजदेखि सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य
2022/01/21, 1:30
 
ss

कैलालीमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि थप कडाइ गरिएको छ । स्थानीय जिल्ला प्रशासन कार्यालय कैलालीले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै थप कडाइ गरेको हो । माघ ७ गते अर्थात् आजदेखि जिल्लाभरि सार्वजनिक स्थानहरूमा जाँदा कोरोनाविरुद्ध खोप लगाएको कार्ड अनिवार्य गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै कोरोनाको नयाँ भेरियन्ट सहितको सङ्क्रमणलाई मध्यनजर गर्दै जिल्ला कोभिड व्यवस्थापन समितिले आजदेखि लागू हुने गरी कार्यालय , होटेल , रेस्टुरेन्ट , रङ्गशाला आदि सार्वजनिक स्थानहरूमा जाँदा मास्कको प्रयोग र कोरोनाविरुद्ध खोप लगाएको कार्ड अनिवार्य गरिएको जनाएको छ ।

खोप कार्ड हेरेर मात्रै सेवा दिने व्यवस्था मिलाएका कारण कोरोनाको खोप लगाएको कार्डको मोबाइलमा फोटो भए पनि हुने सूचनामा भनिएको छ ।

यस्तै कार्यालयमा जाँदा मास्कको प्रयोग , खोप कार्ड र भौतिक दुरी कायम लगायत स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सेवा लिन जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा हस्ताक्षर सूचनामा उल्लेख गरिएको छ ।

No description available.