डोटीको सेती प्राविधिक शिक्षालयका प्रमुखले घुस मागेको आरोप, पदबाट हटाइयो
2022/01/27, 3:32
 
ss

भ्रष्टाचारको गरेको आरोप लागेका डोटीस्थित सेती प्राविधिक शिक्षालय दिपायलको प्रमुखमाथि छानविन गरिने भएको छ। शिक्षालयका प्रमुख रहेका वीरेन्द्रबाबु यादवलाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमीले जिम्मेवारीबाट समेत हटाएको छ। पाँच दिन अघि उनलाई शिक्षालयको प्रमुखबाट  हटाइएको हो। 

कमिसनका लागि कुखुरा व्यवसायीसँग गरेको बार्गेनिङको अडियो गत पुष १६ गते सार्वजनिक भएको थियो। विद्यार्थीलाई कुखुरा पालनबारे सिकाउन शिक्षालयले ५ सय चल्ला खरिद गरेको थियो। व्यवसायीले पठाएको बील च्यातेर व्यवसायीसँग फोनमा कमिसन माग्दै गरेको सार्वजनिक भएको अडियोमा सुनिन्छ।

उनी विगत २१ महिनादेखि प्राविधिक शिक्षालयको प्रमुखको रुपमा काम गर्दै आएका थिए। शिक्षालयमा उनले पेन्टिङ, मसलन्द, भवन निर्माण, पेट्रोलियम पदार्थ, गाडी मर्मत, विद्यार्थी भर्ना, विद्यार्थी परिचय पत्र र ड्रेसमा समेत आर्थिक अनियमितता गरेको आरोप लागेको छ। आर्थिक अनियमितता गरेर प्रमुख यादवले शिक्षालयको साख गिराएकोले छानविन गरेर कारवाही गर्न शिक्षालयका कर्मचारी र स्थानीयले माग गरेका छन्।