गृहमन्त्रीले डडेल्धुरा र बझाङका सिडीओलाई सोधेः कोरोना, चिसो र सुरक्षाबारे के भइरहेको छ ?
2022/01/29, 2:00
 
ss

गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा कोभिड–१९ संक्रमण, शीतलहरको अवस्था र सरकारले गरिब र अशक्तलाई तराईमा शीत लहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे २० जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता  गरेका छन्। शनिबार बिहान गृहमन्त्री खाँणले प्रजिअहरुसँग टेलिफोन वार्ताबाट सम्बन्धित जिल्लामा कोभिड–१९ संक्रमणको अवस्था, खोप लगाएकाको संख्या, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिएका हुन्।

गृहमन्त्री खाँणले सुदूरपश्चिमका मात्रै डडेल्धुरा र बझाङका प्रजिअहरुसँग टेलिफोन वार्ता गरेका हुन्। वार्ताको क्रममा गृहमन्त्री खाणले जिल्ला प्रशासन र जिल्लास्थित सरकारी कार्यालयमा कोभिडको अवस्था, शान्ति सुरक्षाको स्थिति, शीतलहर र हिमपातको प्रभावमा परेका गरिब र अशक्त नागरिकलाई न्यानो कपडा वितरणको कार्यबारे जानकारी लिएका हुन्। 

सरकारले गत मंसिर एक गते नै रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शीतलहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन पठाएको थियो। त्यो निर्देशनको कत्तिको कार्यान्वयनबारे  गृहमन्त्रीले जानकारी लिएका हुन्। त्यस्तै सीमा नाकाबाट आउने नागरिकमा कोभिडको संक्रमणबारे पनि मन्त्री खाणले जानकारी लिएका थिए।