डोटीमाअब बसपार्कमै पार्किङ
2022/02/10, 11:38
 
dd

डोटीमा सञ्चालन हुने गाडी चालकले सडकमै पार्किङ गर्ने गरेका कारण सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै अहिले गाडी बसपार्कमै राख्ने निर्णय गरिएको छ । ‘व्यवस्थित बसपार्क नहुँदा समस्या, सडकमै गाडी पार्किङ’ भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि अहिले जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका र गाडी व्यवसायीको छलफलपछि बसपार्कमै गाडी पार्किङ गर्ने सहमति भएको हो ।

नगरपालिकाले पिपल्ला बजारमा लाखौँ रकम खर्च गरेर बसपार्क निर्माण गरेको भए पनि त्यो बसपार्क व्यवस्थित नभएको र साँघुरो भएको भन्दै यातायात व्यवसायीले वर्षौँदेखि गाडी सडकमै पार्किङ गर्ने गरेका थिए । यहाँबाट पहाडी जिल्ला अछाम र बाजुरा जाने गाडी पिपल्ला बजार भएर जाने र यहाँका यातायात व्यवसायीले पनि त्यही सडकमै गाडी पार्किङ गर्ने गरेका कारण सवारी दुर्घटना हुन सक्नेबारे समाचार प्रकाशित भएको थियो ।

समाचार प्रकाशित भएपछि यहाँको स्थानीय प्रशासनले दिपायल, पिपल्ला लगायतका ठाउँमा सञ्चालन हुने गाडी अनिवार्य बसपार्कमा पार्किङ गर्न लगाउन निर्देशन दिएपछि अहिले कार्यान्वयनमा आएको पिपल्लाका धनबहादुर शाहीले बताए । ट्राफिक प्रहरीले यात्रुवाहक गाडी अनिवार्य बसपार्कमा पार्किङ गराउनुपर्ने व्यवस्था गरेको छ भने सडकमा पार्किङ गर्नेलाई कारबाही गर्न थालेको छ । यसअघि गाडी दिनभरि सडकमै पार्किङ गर्ने र त्यहीँबाट ग्रामीण क्षेत्रका लागि नम्बर उठाउने तथा यात्रु लैजाने गर्नाले पिपल्ला बजारको सडक अस्तव्यस्त बनेको थियो ।