सहमति भएपछि अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो
2022/02/10, 11:44
 
aa

स्थानीयवासीको अवरुद्धका कारण बन्द रहेको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ। उक्त राजमार्गअन्तर्गतको डोटीको जोरायल गाउँपालिका–१ गोगनपानीमा आज डडेल्धुराको आलिताल गाउँपालिका–१ भुसुका १६ वर्षीय बालक भानु नाथ मृत अवस्थामा फेला परेपछि उचित छानविनको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका थिए।

गोगनपानी सडकमा बालक मृत अवस्थामा फेला परेपछि स्थानीयवासीले गरेको राजमार्ग अवरुद्ध अहिले सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए। उनका अनुसार बन्दकर्तासँग घटनाको निष्पक्ष छानविन गर्ने सहमति भएपछि राजमार्ग खुलाइएको हो । मृतकको शवपरीक्षणका लागि अस्पताल पठाउने तयारी भएको प्रहरीले जनाएको छ।

यही माघ २३ गते राति बिहेमा गएका नाथ आज घर फर्किने क्रममा गोगनपानी सडक नजिकै मृत अवस्थामा भेटिएका हुन्। राजमार्ग अवरुद्ध हुँदा त्यहाँ जाममा परेका सवारी साधन अहिले आफ्नो गन्तव्यतिर लागेका प्रहरीचौकी गैराले जनाएको छ।