कैलालीमा क्वारेन्टिनबाट भागेर घर बसेका १८ जनालाई कोरोना पुष्टि
2020/06/19, 2:32
 
korona

क्वारेन्टिनबाट भागेर घर बसेका कैलालीको गौरीगंगा नगरपालिकाका १८ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । घरमा बसेका उनीहरुलाई कोरोना संक्रमण देखिएपछि गाउँमा त्रास बढेको छ । गत जेठ ३० गते गौरीगंगा नगरपालिका–१ स्थित पशुपति माविमा बनाइएको क्वारेन्टिनबाट ५० जना भागेका थिए । तीमध्ये १८ जनालाई कोरोना संक्रमण देखिएको वडाध्यक्ष जगतराम चौधरीले जानकारी दिए । 

धनगढी स्थित प्रयोगशालामा गत बुधबार गौरीगंगा नगरपालिकाका ती १८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । क्वारेन्टिनबाट भागेर घरमा बसेकाहरुमा कोरोना संक्रमण देखिएपछि त्रासका कारण घर बाहिर ननिस्किएको स्थानीय प्रकाश थापाले बताए ।  क्वारेन्टिनमा रहेकाहरु भागेर घर जाने अवस्था आउनुमा वडा कार्यालयको लापरवाही रहेको स्थानीय यज्ञनिधि कोइरालाले  बताए ।

‘क्वारेन्टिन व्यवस्थापनमा लापरवाही देखिएकाले यो अवस्था आएको हो,’ उनले भने । उनले कोरोना परीक्षण र त्यसको नतिजामा ढिलाईका कारण यो अवस्था आएको उनको भनाई छ । क्वारेन्टिनबाट भागेपछि कोरोना संक्रमण पुष्टि भएकाहरुलाई नगरपालिकामै निर्माण गरेको आइसोलेसनमा राख्न घरमै जाँदा पनि कसैले नमानेको नगरपालिकाकी उपमेयर अन्चला चौधरीले बताइन ।

तीमध्ये दुई जनालाई भने नगरपालिकाले निर्माण गरेको आइसोलेसनमा राखिएको उनले बताइन । गौरीगंगामा अहिलेसम्म ४८ जनालाई कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।