कैलालीको टिकापुर नगरपालिकाले तोक्यो दूधको मूल्य, प्रतिलिटर कति ?
2022/02/14, 12:30
 
aa

कैलालीको टीकापुर नगरपालिकामा दूध र दुग्धजन्य पदार्थको मूल्य निर्धारण गरिएको छ । टीकापुर नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले दूधको मूल्य निर्धारण गर्न गठन गरेको समितिले शुक्रबार मूल्य बढाउने निर्णय गरेको हो।

अब टीकापुरको बजारमा उपभोक्ताले दूधका लागि प्रतिलिटर ७० रुपियाँ तिर्नुपर्नेछ भने किसानले फागुनदेखि साउनसम्म प्रतिलिटर ५९ रुपियाँ र भदौदेखि माघसम्म प्रतिलिटर ५८ रुपियाँ पाउनेछन् । डेरी सञ्चालकले खुद्रा मूल्यमा ११ देखि १२ रुपियाँ फाइदा पाउने भएका छन् । यसअघि किसानले प्रतिलिटर ५४ रुपियाँमा बेच्ने, डेरीले ११ रुपियाँ नाफा लिएर उपभोक्तालाई ६५ रुपियाँमा बेचिरहेका थिए ।

डेरी व्यवसायीले यसअघि एकपक्षीय रूपमा दूधको खरिद मूल्य ६० रुपियाँ र बिक्री मूल्य ७५ रुपियाँ तोकेपछि उपभोक्ता र किसानले नगरपालिका गुहारेका थिए । किसानको उत्पादन लागत र कच्चा दूध खरिद बिक्रीमा डेरी व्यवसायीले पाउने मुनाफालाई हेरी मूल्य निर्धारण गरिएको र उपभोक्ताले पनि दुग्ध विकास संस्थानको भन्दा सस्तोमा दूध पाउने पशु सेवा शाखाका प्रमुख श्यामराज पाण्डेले बताउनुभयो। यसैगरी टीकापुरमा दूधको गुणस्तर पनि तोकिएको छ । दूधको गुणस्तर ४ प्रतिशत फ्याट, ८ प्रतिशत एसएनएफ हुनेपर्ने र यो मापदण्ड पूरा भए गाई र भैँसीको दूध किनबेच गर्दा मूल्यमा विभेद नगरिने पाण्डेले बताए ।
बढेको मूल्यअनुसार फागुन १ गतेदेखि दहीको अधिकतम खुद्रा मूल्य प्रतिलिटर १०० रुपियाँ, महीको ५० रुपियाँ, घिउ प्रतिकिलो एक हजार रुपियाँ, खुवा प्रतिकिलो ७०० रुपियाँ र छुर्पी प्रतिकेजी एक हजार रुपियाँ भएको छ ।

पशुपालक किसानका प्रतिनिधि ललित थापाले तोकिएको मूल्यले किसानको लागत नउठे पनि उपभोक्तालाई ध्यान राखेर समितिले निर्धारण गरेको मूल्यमा चित्त बुझाउनुपरेको बताए। डेरी व्यवसायीका प्रतिनिधि रवीन्द्र खड्काले टीकापुरको मूल्य वृद्धिले किसानलाई मात्रै फाइदा भएको तर व्यवसायीलाई फाइदा नभएको प्रतिक्रिया दिनुभयो।टीकापुर नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको माघ २६ गतेको बैठकले पशु सेवा शाखाका प्रमुखको संयोजकत्वमा प्रशासन, प्रहरी, डेरी व्यवसायी, पशुपालक किसान, दूध सङ्कलक र उपभोक्ताका प्रतिनिधि रहेको एक समिति गठन भएको थियो । टीकापुर नगरपालिकामा स्थानीय बजार व्यवस्थापन र अनुगमन ऐन २०७६ बनेपछि नगरपालिकाले बेलाबेलामा वस्तुको मूल्य निर्धारण गर्ने गरेको छ ।