कोरोनाको संक्रमण बढ्दै गएपछि अत्तरिया बजार बन्द गर्ने सहमती भएको छ । नगर क्षेत्रमा संक्रमण बढ्दै गएका कारण केही दिनका लागि बजार व्यवसाय बन्द गर्ने समझदारी भएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले बताए ।
उनले तत्काल १५ दिनका लागि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गर्ने गोदावरी नगरपालिका लगायतका निकायसँग समझदारी भएको जानकारी दिए । गोदावरी नगरपालिकाले समेत बजार व्यवसाय बन्द गरिदिन अपिल जारी गरेको छ ।
नगर प्रमुख हरी सिह साउँदले जारी गरेको अपिल पत्रमा संक्रमणबाट एक जनाको मृत्यु समेत भईसकेको र संक्रमण बढ्दै गएका कारण बजार खोल्दा हुने भीडभाडले जोखिम बढ्ने भन्दै अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्न अनुरोध गरिएको छ ।
गोदावरीमा गत जेठ २४ गते पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । धनगढीमा गरिएको परिक्षणमा गोदावरी नगरपालिकाका ४४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । जेठ ३२ गते कोरोना पुष्टि भएका गोदावरी १ का ४६ बर्षिय पुरुषको भने मृत्यु भईसकेको छ ।
अहिले सम्म गोदावरीमा ९ जना संक्रमित भेटिएका छन् । आज मात्र गोदावरीका थप ४ जनामा कोरोना देखिएको सेती प्रादेशिक अस्पतालले पुष्टि गरेको छ ।