बडिकेदारका कर्मचारीलाई काम गर्ने वातावरण बनाउन आग्रह
2022/02/18, 10:52
 
dd

डोटीको बडिकेदार गाउँपालिका जिम्मेबार पदाधिकारीहरुले नै फर्जी बिल भर्पाइका साथै नियमविपरीत काम गर्न कर्मचारीलाई दबाद दिने गरेको कुरा बाहिरिएको छ ।  जिम्मेबार पदाधिकारीबाटै फर्जी बिल भर्पाइ बनाई भुक्तानी लिन कर्मचारीलाई दबाब दिँदै आएका छन् । कर्मचारीले कानुन बमोजिम प्रक्रिया पुगेका बाहेकका अन्य विल भर्पाइको भुक्तानी नहुने भनेपछि जिम्मेबार पदाधिकारीहरुले नै कर्मचारीलाई गाली गलौच गर्नुका साथै विभिन्न मुद्दामा फसाइदिने भन्दै धम्की दिने गरेका हुन् ।

गत मंगलबार मात्रै गाउँपालिकामा कार्यरत कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै जिम्मेवार पदाधिकारीबाट नै असुरक्षित भएको बताएपछि बडिकेदार गाउँपालिकाको मूल कुरो बाहिरिएको हो । विज्ञप्तीमा जिम्मेवार पदाधिकारी कार्यकक्षमा आएर गाली बेइज्जती गर्ने, धम्क्याउने, असान्दर्भिक विषय उठाई आफ्नो स्वार्थपूर्तिका लागि गलत काम गर्न लगाउने र कानुन सम्मत गर्न नमिल्ने काम समेत गर्न दबाब दिने गरेको बताइएको छ ।

कर्मचारीप्रति गरिएको गाली वेइज्जती तथा धम्कीपछि गाउँपालिकाका कर्मचारीले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरेका थिए । सोही विषयलाई लिएर स्थानीय तह कर्मचारी हकहित मञ्च केन्द्रीय समन्वय समिति काठमाडौं, नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश कार्यसमिति, नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्यसमिति डोटी, स्थानीय तह कर्मचारी हकहित मञ्च सुदूरपश्चिम प्रदेश समितिले छुट्टा छुट्टै विज्ञप्ति जारी गरेर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

स्थानीय तह कर्मचारी हकहित मञ्च केन्द्रीय समन्वय समिति काठमाडौंका संयोजक वेदराज अधिकारी र सचिव वीरबहादुर बिष्टद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा राष्ट्रसेवक कर्मचारीलाई धाकधम्की र दुव्र्यवहार गरी आफ्नो व्यक्तिगत स्वार्थ सिद्ध गर्न खोज्नु प्रचलित कानुनको बर्खिलाप हुन गएको उल्लेख छ ।

कानुनको पालना गर्ने क्रममा कर्मचारीमाथि हुने यस्ता खालका दुस्कार्यले सेवा प्रवाह समेत प्रभावित हुने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गर्दै भनिएको छ –‘कानुनको पालना गरौ भन्दा तथानाम गाली गलौच गरी वेइज्जती गर्ने र ज्यान मार्ने धम्की दिने अराजक पदाधिकारीलाई कानुन बमोजिम कारबाहीको माग गर्दछौँ ।’  पारदर्शिता, जवाफदेहिता र निष्पक्षता कायम गर्ने शिलशिलामा एउटै कार्यालयमा काम गर्ने पदाधिकारीबाट यस्ता खालका घृणित कुकार्यले कर्मचारीको मनोबल कमजोर हुने र कार्य वातावरणमा समेत प्रभावित हुने गरेका कारण त्यस्ता कुकृत्य गर्ने दोषीलाई कानुनको कठघेरामा ल्याएर कर्मचारीलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण सिर्जना गराउनका लागि ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ ।

सोही घटनालाई लिएर नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश कार्यसमितिका सचिव नारदप्रसाद भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा दुरदराजमा रही जनता र राष्ट्रको सेवामा सेवारत राष्ट्रसेवक कर्मचारीको मानमर्दन हुनेगरी भएका कार्यको प्रदेश समितिले घोर भत्र्सना गरेको छ ।

नेपाल निजामती कर्मचारी यूनियन डोटीका अध्यक्ष लालबहादुर बोगटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पनि बडिकेदारमा कार्यरत कर्मचारीका विषयमा भएको अमानवीय गतिविधिको भत्र्सना गर्दै सबै मिलेर समयमै सचेत भई कर्मचारीलाई सहज रुपमा काम गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेको छ । यस्तै, स्थानीय तह कर्मचारी हकहित मञ्च सुदूरपश्चिम प्रदेश कार्यालयले पनि एक प्रेस विज्ञप्ति जारी गरी बडिकेदर गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीप्रति भएको दुव्र्यवहारको घोर भत्सना गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘गैरकानुनी, अभद्र, निन्दनिय व्यवहारहरु जिम्मेबार पदाधिकारीबाटै हुँदासम्म पनि स्थानीय प्रशासनले गम्भिरताका साथ चासो नदिनुले यस प्रकारका गलत गतिविधिहरुले प्रश्रय पाउने र पीडितले न्याय नपाउने अवस्था सिर्जना भएको छ ।’ फर्जी बिल भर्पाइहरु बनाई राज्यको सम्पत्ति आफू अनुकुल खर्च गर्ने र सो गैरकानुनी कार्य गर्न नसकिने भन्दै कानुन सम्मत विधिवत रुपमा गरौँ नावश्यक बिल भर्पाइहरु नल्याउन आग्रह गर्दा गालीगलौच गरी बेइज्जती गर्नुका साथै लैंगिक मुद्दामा फसाइदिने तथा ज्यान मार्नेसम्मको धम्कीपूर्ण व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा राष्ट्रसेवक कर्मचारीहरुलाई भयरहित शान्तिपूर्ण रुपमा सुरक्षित कार्य वातावरणको सुनिश्चितता गर्नतर्फ स्थानीय प्रशासनले यथासिघ्र आहवश्यक पहल चाल्न आग्रह गर्दै अब उप्रान्त यस प्रकारका अवाञ्छित, अमर्यादित, अनैतिक, अमानविय गतिविधि हुन नदिन तथा राष्ट्रसेवक कर्मचारीहरुलाई सुरक्षाको अनुभूति हुने गरी स्वच्छ कार्यवातावरणको सिर्जना गर्नतर्फ सरोकारवाला निकायको ध्यानाकर्षण गरिएको उल्लेख छ ।