डडेल्धुरामा भेटियो गुणस्तरहीन बालभिटा, धुलो हुनु पर्नेमा ढिक्का !
2022/03/11, 1:15
 
ss

डडेल्धुराको परशुराम नगरपालिकाका अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध बालभिटा डल्लो परेको (गुणस्तरहीन) भेटिएको छ। बालभिटाको बट्टामा प्रयोग अवधि सन् २०२२ को अगष्टसम्म उल्लेख भए पनि भित्र धूलो डल्लो परेको भेटिएको हो ।

बालभिटाभित्र धुलो हुनुपर्ने भएपनि ढिक्का भएको परशुराम नगरपालिका–४ कटाल स्वास्थ्य चौकीका अहेब नन्दराम नाथले बताए। उनले यस्तो समस्या नगरपालिकाभर नै रहेको बताए ।

‘जिल्ला स्वास्थ्य कार्यालयबाटै यस्तो पठाएको हो। यता भण्डारणमा समस्या छैन्। सप्लाईमा समस्या हो,’ अहेब नाथले भने, ‘हामी अहिले यो नै वितरण गरिरहेका छौं, बालभिटा प्रयोग गर्नेहरूलाई डल्लो आएमा प्रयोग नगर्न र धुलो मात्रै प्रयोग गर्न भनेका छौं।’ 

जिल्ला स्वास्थ्य कार्यालयले परशुराम नगरपालिकामा दुई महिनाअघि बालभिटा पठाएको उनले जानकारी दिए। उनले भने, ‘पहिले पठाएकोमा समस्या थियो। अहिले पठाएको ठीक छ।’ बालभिटामा समस्या देखिएपछि वितरण नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको परशुराम नगरपालिकाका स्वास्थ्य संयोजक तेजबहादुर सिंहले बताए ।