प्रधानमन्त्रीको गृहजिल्लामा माओवादीले माग्यो ५० प्रतिशत स्थानीय तह
2022/04/05, 4:35
 
dd

सत्ता गठबन्धनको एक दल नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुुर देउवाको गृहजिल्ला डडेलधुरामा झन्डै ५० प्रतिशत स्थानीय तहमा आफ्नो दाबी गरेको छ । दुई नगरपालिका सहित सात स्थानीय तह रहेको डडेलधुरामा माओवादी केन्द्रले तीन स्थानीय तहमा आफ्नो दाबी गरेको हो ।

नेपाली कांग्रेसका सभापति देउवाको जिल्लामा ०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी अजयमेरु गाउँपालिकामा मात्रै विजयी भएको थियो । त्यसबाहेक परशुराम नगरपालिकामा ५८४ र आलिताल गाँउपालिकामा ५०० भन्दा कम मतान्तरले माओवादी उमेदवार पराजित भएका थिए ।

आफूहरू थोरै मतान्तरले हारेकाले तीन स्थानीय तहमा दाबी गरेको माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले बताए । डडेलधुरामा ५२ वडा छन् । ०७४ सालको निर्वाचनमा कांग्रेसले १७, माओवादी केन्द्रले १६ र नेकपा (एमाले) ले १९ वडाध्यक्ष जितेको थियो ।

डडेलधुरामा पछिल्लो तीनवटै संसदीय निर्वाचनमा देउवासँग माओवादी नेता खगराज भट्ट नै प्रतिद्वन्द्वी बनेका थिए । केन्द्रमा सत्तारूढ दलहरूबीच स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको छ । सोही सहमतिपछि माओवादी केन्द्रले प्रधानमन्त्रीकै गृहजिल्लामा तीनवटा स्थानीय तह मागेको हो ।

नेता भट्टले बाह्खरीसँग भने, “प्रधानमन्त्रीकै गृहजिल्लाबाट गठबन्धनबाट सम्मानजनक सहकार्य हुने हामीले अपेक्षा गरेका छौँ । तर, तल्लो तहमा विश्वासको संकट देखिन्छ । यसलाई हल गर्दै जानुपर्छ । मिलेर जानुपर्छ भन्नेमा हामी पनि छौँ । तर, गठबन्धनका नाममा एकदमै पेल्न खोजियो भने डडेलधुरामा हामी एक्लै लड्ने सामर्थ्य राख्छौँ ।”

गठबन्धनप्रति नेता–कार्यकर्ताहरूमा आशंका रहेकाले त्यसलाई चिर्ने काम भइरहेको भट्टले बताए । उनका अनुसार कांग्रेसको प्रदेश नेतृत्वसँग सहकार्यका बारेमा संवाद भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को प्रभाव पनि बढ्दै गएको छ ।

डडेलधुरामा माओवादीले झन्डै ५० प्रतिशत दाबी गरे पनि समग्रमा सुदूरपश्चिममा ३० प्रतिशत स्थानीय तह पाए सहमति हुन सक्ने नेता भट्ट बताउँछन् । गठबन्धनलाई लिएर सुदूरपश्चिममा पनि कांग्रेसभित्र दुई धार देखिएको छ । एक पक्ष मिल्नुपर्ने र अर्को पक्ष एक्लै चुनावमा जानुपर्ने लाइनमा छ । कांग्रेसभित्रको दुई लाइनका कारण निर्वाचन नतिजामा असर पर्ने हो कि भन्ने चिन्तामा माओवादी देखिन्छ ।