गठबन्धनमा आवद्ध दलबीच जिल्लास्तरमै तालमेलको प्रयास
2022/04/06, 11:20
 
11

आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिममा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले जिल्लास्तरमै तालमेलको गृहकार्य सुरु गरेका छन् । केही जिल्लामा वडा तहसम्मै तालमेल गर्ने निर्णय भएको छ, केहीमा तालमेलबारे दलहरुले छलफल सुरु गरेका छन् । यद्यपि जिल्लास्तरमा तालमेलको सहमति भए पनि केही पालिकामा स्थानीय कमिटीमा तालमेलप्रति असहमतिका धारणाहरु पनि सार्वजनिक भइरहेका छन् । 

अछाममा नेपाली का‌ंग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जिल्लाका १० वटै स्थानीय तह र ९१ वटै वडामा गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेका छन् । वर्तमान राजनीतिक परिस्थिति र केन्द्रीय गठबन्धनलाई आत्मसाथ गर्दै गठबन्धन गर्ने सहमति भएको दलहरुले बताएका छन् ।

कांग्रेसका अछाम जिल्ला सभापति पुष्पबहादुर शाह, माओवादी जिल्ला संयोजक रबिन्द्र साउद र समाजवादीका जिल्ला अध्यक्ष हिरण्ड भट्टराइले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्न स्थानीय तहका कमिटीहरुलाई पनि आग्रह गरेका छन् ।

कञ्चनपुरमा पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका छन् । कांग्रेसको पार्टी कार्यालयमा गत सोमबार बसेको माओवादी, समाजवादी र राष्ट्रिय जनमोर्चासहित चार दलको बैठकले स्थानीय तहमा राजनीतिक दलहरुको शक्तिका आधारमा तालमेल गर्ने सहमति गरेको हो ।  

‘केन्द्रमा भएको गठबन्धन गरेर जाने निर्णयको स्वागत गर्ने र जिल्लामा पनि वडासम्मै तालमेल गर्ने निर्णय गरेका छौँ,’ माओवादी केन्द्रका जिल्ला संयोजक खेम पाण्डेयले भने, ‘कुन तहमा कुन पार्टीले लिने भन्नेबारे यही बुधबार बस्ने गठबन्धनको बैठकमा छलफल गर्नेछौँ ।’ जुन पालिकामा जसको पकड र मतभार बढी छ त्यसका आधारमा नेतृत्व भागवण्डा गर्ने सहमति भएको उनले बताए ।

कञ्चनपुरका ९ स्थानीय तहमध्ये अहिले एमालेले तीन तथा कांग्रेस, माओवादी र समाजवादीले दुई÷दुई तहको नेतृत्व गरिरहेका छन् । जिल्ला तहमा सहमति भए पनि कांग्रेसको भीमदत्त नगर कमिटीले भने नगरपालिकामा कांग्रेसले कसैसँग तालमेल नगर्ने निर्णय मंगलबार गरेको छ । सुदूरपश्चिमका नौ जिल्लामध्ये सबैभन्दा बढी १३ वटा स्थानीय तह रहेको कैलालीमा पनि गठबन्धनमा आवद्ध दलहरु चुनावमा मिलेर जान सहमत छन् । सत्तारुढ पाँच दलका नेताहरुबीच गत १५ चैतमा बसेको बैठकमा वडा तहसम्मै गठबन्धन गर्नुपर्ने विषयमा दलहरुले सैद्धान्तिक सहमति जनाएका छन् । तर, तालमेलबारे निर्णय भने भएको छैन । कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्टले कैलालीमा पनि गठबन्धन गरेरै चुनावमा जाने बताए ।

 ‘पाँच दलीय गठबन्धनबीच यहाँ पनि तालमेल हुन्छ,’ उनले भने, ‘यसबारे निर्णय गर्न यो बुधबार गठबन्धनको बैठक बस्दैछौँ ।’ उनले केन्द्रमा गठबन्धनको सरकार रहेकाले जिल्लामा पनि गठबन्धन हुने बताए । तालमेलबारे कांग्रेसले आफ्नो पार्टीका तल्ला कमिटीहरुबाट सुझाव मागिएको सभापति भट्टले बताए । प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीलगायत केही तहका कांग्रेसका कमिटी तालमेल गर्र्नुपर्ने पक्षमा छन् । यहाँका १३ तहमध्ये अहिले एमालेका सात, कांग्रेसका चार र माओवादीले दुई तहको नेतृत्व गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गठबन्धनका पाँच दलको बैठकले केन्द्रमा भएको चुनावी तालमेलको निर्णयको स्वागत गर्दै गठबन्धनलाई प्रभाव पार्ने किसिमका अभिव्यक्ति कसैले नदिने सहमति गरेको छ । गत आइतबार बसेको गठबन्धनको बैठकको अध्यक्षता गरेका कांग्रेस डडेल्धुराका उपसभापति डिल्लीराज जोशीले चुनावमा तालमेल गरेर जान गठबन्धनका दलहरु समत रहेका बताए । 

‘पार्टी सभापति यहीँको हुनुहुन्छ । केन्द्रमा भएको सहमति विपरीत हामी जाने कुरा पनि भएन ।’ उनले भने, ‘आवश्यकताअनुसार तालमेल गछौँ ।’ डडेल्धुरामा माओवादीले सम्मानजनक स्थान नपाए तालमेल नगर्ने जनाएको छ । त्यहाँका सातमध्ये आफू एक्लै चुनाव जित्ने अवस्था रहेका तीन पालिकाको नेतृत्व पाउनुपर्ने माओवादीको दाबी छ ।

 बझाङमा पनि गठबन्धनका दलहरुबीच नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । तर त्यहाँ भागवण्डामा विवाद छ । नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज दिलबहादुर सिंहले केन्द्रमा मापदण्ड बनेमा जिल्लामा नेतृत्व भागवण्ड गर्न सजिलो हुने बताए । ‘गठबन्धन गरेर जान सबै सकारात्मक छौँ । कसले कहाँ, कति लिने भन्नेमा छलफल गर्दैछौँ ।’ उनले भने, ‘केन्द्रमा मापदण्ड बन्दैछ, त्योअनुसार जिल्लामा अगाडि बढ्छौँ ।’  
              
राप्रपा र नेकपाको साथ खोज्दै एमाले

  सुदूरपश्चिममा नेकपा एमालेले पनि निर्वाचनमा तालमेलका लागि राप्रपा र नेक्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग संवाद अगाडि बढाएको छ । एमाले नेताहरुले कम्युनिष्ट पार्टीका नेताहरुलाई भेटेर निर्वाचनमा मिलेर जाने प्रस्ताव गरेका छन् । एमाले सुदूरपश्चिम अध्यक्ष दामोदर भण्डारी, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनलगायत नेताहरुबीच धनगढीमा सोमबार भएको छलफलमा चुनावी तालमेलका विषयमा थप छलफल गरेर निर्णय गरिने सहमति भएको छ ।

एमाले विभाजनको असर सबैभन्दा बढी सुदूरपश्चिममा देखिएको थियो । प्रदेश सभामा एमालेका २५ मध्ये १४ सदस्यले समाजवादी रोजेका थिए । सचिव पाठक भने एमाले विगतकै अवस्थामा रहेको दावी गर्छन् । ‘केही नेताहरुले पार्टी छोडेका हुन् । अन्य पार्टीबाट हाम्रो पार्टीमा आएका पनि छन्,’ उनले भने, ‘सुदूरपश्चिममा हामी बलियो भए पनि कतिपय आवश्यक भएका ठाउँमा तालमेल गर्न खोजेका हौँ ।’