वडामा खटिएका कांग्रेस प्रतिनिधिको सुझाव– कैलालीमा गठबन्धन नगरौँ
2022/04/06, 11:22
 
dd

आसन्न स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनले सहमति गरेको चुनावी तालमेलबारे निर्णय गर्न नेपाली कांग्रेस कैलालीले वडा तहबाट सुझाव संकलन गरेको छ । कैलाली कांग्रेसले गत १३ गतेदेखि २० गतेसम्म घरदैलो अभियानअन्तर्गत खटाएका प्रतिनिधिहरूले वडामा छलफल गरी मंगलबार पार्टीलाई प्रतिवेदन बुझाएको कांग्रेस कैलालीका सचिव केशवराज मिश्रले जानकारी दिए ।

संकलन गरिएका प्रतिवेदनहरूको अध्ययन गर्नका लागि जिल्ला सचिव नृपबहादुर सुनारको संयोजकत्वमा समिति गठन गरिएको छ । सो समितिले छलफल गरी आगामी निर्वाचनमा तालमेल गर्ने वा नगर्नेबारे निर्णय गर्ने छ । मंगलबार पार्टी कार्यालयमा भएको छलफलमा वडा तहमा खटिएका अधिकांश प्रतिनिधिहरूले चुनावमा तालमेल नगर्नेसहितको सुझाव पेश गरेको बताइएको छ । उनीहरूले प्रतिवेदन पेश गर्दा चुनावी तालमेल गर्ने वा नगर्नेबारे केही उल्लेख नगरे पनि प्रतिवेदन बुझाएर फर्किंदा भने तालमेल गर्न नहुने बताएका थिए । 

घोडाघोडी नगरपालिकामा खटिएका प्रतिनिधि अमरबहादुर खक्रीले चुनावी तालमेल गर्न नहुने बताए । उनले वडादेखि नै नेपाली कांग्रेस बलियो भएका क्षेत्रमा चुनावी तालमेल गर्न नहुने बताए । तर, कांग्रेसका अधिकांश वडा सभापति, क्षेत्रीय र जिल्ला सभापति भने चुनावी तालमेलको पक्षमा रहेका छन् । कैलाली कांग्रेसका सभापति नारायणदत्त भट्ट सुरुदेखि नै चुनावी गठबन्धनको पक्षमा छन् । 

"केन्द्रमा गठबन्धनको सरकार छ । हाम्रो पार्टीका केन्द्रीय सभापति पनि गठबन्धनका आधारमा नै प्रधानमन्त्री हुनुभएको छ । त्यसैले गठबन्धन हुन्छ, हुन्छ, हुन्छ । तर स्थानीय आवश्यकताको आधारमा हुन्छ," उनले भने । धनगढी उपमहानगरपालिकासहित केही स्थानीय तहले गठबन्धन गर्न सुझाव दिए पनि अधिकांश स्थानीय तहमा गठबन्धन नगर्न सुझाव आएको बताइएको छ । यसैबीच, बुधबार पाँच दलीय गठबन्धनका घटकहरूबीच चुनावी तालमेलबारे छलफल हुने जिल्ला उपसभापति भीमबहादुर बडुवालले बताए ।