सुदूरपश्चिममा प्रसिद्ध मेला बान्नकी चैतलीको रौनक
2022/04/15, 10:12
 
dd

सुदूरपश्चिममा प्रसिद्ध मेला बान्नकी चैतलीको रौनक छ । होली पूर्णिमादेखि सुरु हुने मेला चैत्र शुक्ल पूर्णिमासम्म लाग्ने गर्छ । मेला सुरु भएपछि हरेक रात मन्दिरमा बाजा बजाउने र मष्टाका करियाहरू चोखो भएर व्रत बस्ने बान्नी मष्टाका पुजारी नृपराज जोशीले बताए ।

उनका अनुसार परापूर्वकालमा महिसासुर दानवले बान्नी मष्टासँग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागि सुर्मादेवी प्रकट भई महिसासुरको बध गरेको खुसीयालीमा बान्नकी चैतली मेला लाग्ने गर्छ । सुर्मादेवीले दानवको बध गरेको प्रतीकका रुपमा चैत्र औँसीका दिन काटेको लिङ्गोलाई चैत्र शुक्ल त्रयोदशीका दिन तोलेनी भन्ने खेतमा हिँडाउने गरिन्छ । दर्शनार्थीले हिजो बान्नीको काङ्कर अर्थात् लिङ्गो र बान्नी मष्टाको दर्शन गरेका छन् ।

झन्डै ३५ मिटर लामो लिङ्गोलाई समाएर झन्डै ३ सय मिटर हिँडाउने गरिन्छ । यसरी हिँडाएर ल्याएको लिङ्गोलाई बान्नी मष्टाको मन्दिरमा चढाएपछि राक्षसको टाउकोको भकुन्डो बनाएर खेल्ने प्रचलन छ ।  लिङ्गो हिँडाएको र भकुन्डो खेलेको हेर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौँ दर्शनार्थी बझाङको छविसपाथीभेरा गाउँपालिकाको बान्नी चौरमा पुग्ने गर्छन् । बझाङमा नयाँ वर्षको स्वागत गर्न विसुपर्व समेत मनाउने गरिन्छ ।