डोटीका पाँच पालिकामा एमालेले छान्यो उम्मेदवार
2022/04/19, 3:48
 
dd

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले डोटीका पाँच गाउँपालिकाका अध्यक्षका उम्मेदवारहरु टुंगो लगाएको छ ।एमालेले जोरायल गाउँपालिकाको अध्यक्ष पदका लागि दुर्गादत्त ओझालाई सर्वसम्मत उम्मेदवार बनाएको छ । ओझा गत निर्वाचनमा सोही पदमा निर्वाचित भएका थिए ।

यस्तै, सायल गाउँपालिकाको अध्यक्ष पदमा तेजबहादुर डुम्रेललाई सर्वसम्मत उम्मेदवार छानेको छ । डुम्रेल ०७४ को निर्वाचनबाट निर्वाचित अध्यक्ष हुन् । डुम्रेलले प्रतिस्पर्धीलाई ३१९ मतले पछि पारेका थिए ।आदर्श गाउँपालिकाको अध्यक्षका उम्मेदवारका रुपमा डम्मरबहादुर वली चयन भएका छन् ।

गाउँपालिकाको अध्यक्षका लागि तीन जनाको दावी परेपछि आपसमा सहमति हुन नसक्दा गाउँ कमिटीका पदाधिकारी र सदस्यहरुले मतदान गरेका थिए । मतदानमा ४१ मत प्राप्त गरी वली अध्यक्षको उम्मेदवारका लागि छानिए ।

यस्तै, बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्षका लागि हस्तबहादुर बुढालाई सर्वसम्मत उम्मेदवार चयन गरिएको छ भने केआई सिंह गाउँपालिकाका लागि तेजबहादुर माझी सर्वसम्मत उम्मेदवार बनेका छन् । आवश्यक संख्या भन्दा बढी आकांक्षीहरु भएका पालिकाबाट जस्तो नाम आयो, त्यस्तै प्रदेश कमिटीमा पठाइएको एमाले डोटीका सचिव शेरबहादुर मल्लले जानकारी दिए । मल्लका अनुसार दिपायल सिलगढी नगरपालिकाको प्रमुखका लागि सबैभन्दा बढी ६ जना आकांक्षी छन्।

बहालवाला नगर प्रमुख मन्जु मलासी, सच्चिदानन्द जोशी, पूर्णराज जोशी, लक्ष्मण मलासी, सशी सोव र प्रेमबहादुर नेपालीको नगर प्रमुखमा दावी छ । यस्तै उपप्रमुखमा जानकी भट्ट, दीर्घ नेगी र लोकबहादुर खड्काको दावी छ ।

शिखर नगरपालिकाको प्रमुखका लागि जिल्ला समन्वय समितिका प्रमुख रामबहादुर ऐर र भिमबहादुर बलायरको दावी छ । यस्तै शिखरमा उपप्रमुखका लागि पदमा बलायर, लक्ष्मी मल्ल र रमा सुताराको दावी छ । पूर्वीचौकी गाउँपालिकाको अध्यक्षमा डम्मर डौडी, कृष्णकुमार खड्का र भरतबहादुर बोहराको दावी रहेको छ । बडीकेदार गाउँपालिकाको अध्यक्षमा चक्र घर्ती, तिलक मल्ल र लालबहादुर ताडीको नाम सिफारिस भएको छ ।

आदर्श गाउँपालिकाको उपाध्यक्षका लागि बहालवाला उपाध्यक्ष कमलादेवी ओझा, देवकी बोहरा, जानकी खड्का र शोभा सिंहको दावी छ । बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा ज्ञानु बम र विमला बमले दावी गरेका छन् ।