डडेल्धुराको यो वडा, जसले ५ वर्षसम्म अर्कै वडाबाट सेवा दियो
2022/04/20, 1:02
 
ss

डडेल्धुराको भित्रीमधेस क्षेत्रमा पर्ने आलिताल गाउँपालिका वडा नम्बर ७ को यो ५ वर्ष कठिन रह्यो। कारण, अर्को वडामा घर भाडामा लिएर सेवा दिनुपर्ने बाध्यता।

वडा नम्बर ७ ले वडा नम्बर ६–झारकाँडामा रहेको एक घर भाडामा लिएको छ। उसले त्यहिँबाट सेवा दिँदा वडा नम्बर ७ का स्थानीयले खुबै सास्ती पाए। वडा नम्बर ७ मा रहेको बान्नेगाडाका स्थानीयलाई झनै समस्या भइरहेको छ। ‘आफ्ने वडामा कार्यालय नहुँदा झारकाँडमा रहेको वडा कार्यालय जान २ घण्टा हिँड्नुपर्छ। सामान्य कामका लागि पनि त्यत्रो दुःख हामीले पायौं’, बान्नेगाडाका स्थानीय खगेन्द्र महराले भने। 

बान्नेगाडासहित चाइ, सुनखोला, कटाल र राउजालीलगायतका गाउँबाट पनि वडा कार्यालय पुग्न २ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ। अध्यक्ष बोहराले यी माथि उल्लेखित गाउँहरूलाई विकास निर्माणका योजनामा पनि पछाडि पारेको महराको आरोप छ। आफ्नै गाउँतिर मात्रै विकास निर्माणका योजनाहरू हालेको त्यहाँका स्थानीयको आरोप पनि छ।  सोही कारण भौगोलिक दृष्टिले पायक नपर्ने ठाउँमा अस्थाई वडा कार्यालय स्थापना गरिएको स्थानीय बताउँछन्। 

विवादका कारण समस्या भएको होः वडाध्यक्ष बोहरा 
उक्त विषयमा वडाअध्यक्ष विरबहादुर बोहरा भने छ ५ वर्षसम्म विभिन्न विवाद सृजना भएकाले वडा कार्यालयको भवन निर्माण नभएको बताउँछन्। आफ्ना वडावासी सबैले आ–आफ्नै पायक पर्ने ठाउँमा वडा कार्यालय बनाउन माग गरेकाले समस्या भएको उनले बताए। ‘विभिन्न आन्तरिक समस्या र भौगोलिक विकटताका कारण समस्या भएको थियो। बल्ल अहिले विवाद समाधान भएर निर्णय भएको छ। तर यसपालि बजेट पुगेन’ वडाध्यक्ष बोहराले भने।

उनका अनुसार भाटेचौपातादेखि काफल गैरासम्म वडा कार्यालय स्थापना गर्न निर्णय भएको छ। तर आफ्नो कार्यकालमा वडा कार्यालय निर्माण नहुने उनले प्रष्ट पारेका छन्। उनी भन्छन्, ‘वडा कार्यालयबारे निर्णय भएपनि जग्गा प्राप्ति भएको छैन। त्यहाँ एलानी जग्गा छ। सरकारले दिएभने कार्यालय स्थापना हुने हो।’