गठबन्धनभित्र देखिएको असन्तुष्टिले निर्वाचन परिणाममा फरक पर्दैन: प्रचण्ड
2022/04/21, 10:42
 
ss

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनभित्र भागबन्डामा देखिएको असन्तुष्टिले निर्वाचन परिणाममा फरक नपार्ने दाबी गरेका छन् । उनले गठबन्धनभित्र देखिएका असन्तुष्टि क्रमशः मिल्दै जाने विश्वास पनि व्यक्त गरे ।

धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले टिकट वितरणको विषयमा एउटै दलभित्र पनि असन्तुष्टि हुने भन्दै गठबन्धनभित्र देखिनुु स्वाभाविक भएको बताए ।

‘निर्वाचनमा एउटै पार्टीभित्र पनि एउटाले टिकट पाउँदा केही न केही असन्तुष्टि देखापर्छन् त्यसमाथि गठबन्धनभित्र असन्तुष्टिका स्वर सुनिनु लोकतन्त्रको सुन्दरता हो, धेरै ठूलो कुरा होइन,’ उनले भने, ‘यसले निर्वाचनको परिणाममा केही फरक पार्दैन ।’ केन्द्रले राष्ट्रिय एकता, संविधानाको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि बुद्धिमतापूर्वक निर्णय गरेको कुरा एक(दुई दिनमा बुझेपछि सबै शान्त हुने उनले विश्वास व्यक्त गरे ।

सत्ता गठबन्धनका दलहरुबीच केन्द्रमा भएको तालमेलको मर्म र भावनालाई आत्मसाथ गरी देशैभर गठबन्धन गर्नुपर्ने उनले बताए । सहमति नभए मित्रवत प्रतिस्पर्धा गर्ने भनिए पनि तालेमललाई नै प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

फरक प्रसंगमा बोल्दै प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाहमै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाइएको दाबी गरे । ‘गभर्नर र सरकारका बीचमा कहीँ न कहीँ समस्या देखिएकै हो । अर्थमन्त्री र प्रधानमन्त्रीले सल्लाह गरेर नै त्यो निर्णय लिएको कुरा प्रष्ट भएकै छ,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘१३ गते अदालतले दुवै पक्षलाई बोलाएर फैसला गर्दैछ त्यसपछि मात्र धेरै कुरा भन्न सकिन्छ ।’