धनगढीको मेयरमा नेपाली कांग्रेसले पुन: नृपबहादुर वडलाई टिकट
2022/04/23, 1:32
 
ss

धनगढी उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसले पुनः नृपबहादुर वडलाई टिकट दिएको छ ।
सुदूरपश्चिमको अस्थायी मुकाम समेत रहेको प्रदेशको एक मात्र उपमहानगरपालि धनगढीमा नेपाली कांग्रेसले नृपबहादुर वडलाई पुनः मेयरको उम्मेदवार बनाउने भएको हो ।

 वडले आफूलाई पार्टीले धनगढीको मेयरका लागि पुनः टिकट दिने निर्णय गरेको बताए । ‘मैले टिकट पाइसके’ वडले भने . नेपाली कांग्रेस धनगढी नगर सभापति यज्ञराज उपाध्यायले धनगढीमा कांग्रेसले वडलाई नै मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरेको बताए । ‘सत्ता गठबन्धनले धनगढीको मेयर कांग्रेसलाई दिने सहमति भएपछि कार्यदलको बैठकले वडलाई नै उम्मेदवार बनाउने निर्णय गरेको नगरसभापति उपाध्यायले बताए । उनले भने, ‘आजसम्म वडाध्यक्षको उम्मेदवार पनि टुंगो लगाउछौं ।’

०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा वड धनगढीको मेयरमा विजयी भएका थिए । उनले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित गर्दै विजयी भएका थिए । हमाल अहिले पनि चुनावी मैदानमा छन ।अहिले सत्तारुढ पाँच दलको गठबन्धन हुँदा धनगढीको मेयर कांग्रेसको भागमा परेको थियो ।

उपमेयर नेकपा माओवादी केन्द्रको भागमा परे पनि उसले उम्मेदवार चयन अझै गरेको छैन ।माओवादी केन्द्रका उम्मेदवार रामसमझ राना ०७४ को चुनावमा तेस्रो बनेका थिए । एमाले उम्मेदवार दुर्गा जोशी चौथो स्थानमा खुम्चेका थिए । मेयरमा प्रतिस्पर्धा गरेर तेस्रो भएका राना लगत्तै प्रतिनिधिसभाको चुनावका बेला नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

स्रोतका अनुसार धनगढीको मेयरका लागि कांग्रेसबाट दाबी गरेका अर्का नेता कृष्णबहादुर महरालाई प्रदेशसभा सदस्यको टिकट दिने सहमति भएको छ । कांग्रेसको नगर समितिले वड र महरासहित सात जनाको नाम मेयरको उम्मेदवारका लागि सिफारिस गरेको थियो ।