सुदूरपश्चिममा आइतबार ८२१ जनाको उम्मेदवारी दर्ता
2022/04/25, 1:24
 
dd

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सुदूरपश्चिममा प्रदेशमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यमा गरी ८२१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्ने समय सीमा वैशाख ११ र १२ गतेका लागि तोकेकोमा हिजो सम्ममा प्रदेश भरी ८२१ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले बताए । 

उनले प्रदेश भरिमा प्रमुखमा ४३ जना, उपप्रमुखमा १२, अध्यक्षमा २८, उपाध्यक्षमा २२ जनाले उम्मेदवारी दर्ता गराएको बताए । त्यस्तै, वडा अध्यक्षमा २३२ जना, महिला सदस्य ११९ जना, दलित महिला सदस्यमा १०२ र अन्यमा २६३ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख भट्टले बताए ।

त्यस्तै प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखका लागि अहिले सम्म ३/३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेमा गोपाल हमाल र मदन कृष्ण भट्ट रहेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीबाट वसन्त बहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले जानकारी गराएको छ । 

त्यस्तै उपप्रमुखमा विवेकशील साझा पार्टीबाट विमला पन्त ओझा, राप्रपाबाट दुर्गा दत्त पन्त र स्वतन्त्रमा प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले जानकारी दिएको छ ।