स्वतन्त्रका नाममा दलिय सहारा
2022/04/28, 2:47
 
ss

शेरबहादुर ऐर- २०७४ सालको निर्वाचनमा धनगढी उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर चुनावी प्रतिष्पर्धामा होमिएका थिए व्यवसायी गोपाल हमाल । नेपाली काँग्रेसका उम्मेदवार र हमालबिच कडा प्रतिष्पर्धा भयो । उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडसंग पराजित भएका थिए । हमालले निर्वाचनमा ११ हजार पाँच सय २७ मत प्राप्त गरेका थिए ।

दलिय राजनीतिमा स्वतन्त्र उम्मेदवारले जित्न नसक्ने उनले महशुष गरेपछि निर्वाचनबाट पराजय व्यहोरे लगत्तै उनी विवेकशिल साझा पार्टीका प्रदेश संयोजक बने । विवेकशिल साझा पार्टीबाटै प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा उनले उम्मेदवार खडा गरि चुनावमा होमिएका थिए । प्रदेश र प्रतिनिधी सभाका उम्मेदवारले आँकलन गरेको भन्दा पनि कम मत प्राप्त गरेका थिए ।

२०७९ सालको स्थानीय तहको निर्वाचन मिति तोकिएलगत्तै हमालले पार्टीबाट राजीनामा दिएको घोषणा गरेका थिए । अहिले उनी स्वतन्त्र भनेपनि विवेकशिल साझा पार्टीका उम्मेदवार हुन । उनले उम्मेदवारी दिँदा उनका प्रस्तावक थिए विवेकशिल साझा पार्टीबाट प्रदेश सभा सदस्य उम्मेदवार प्रकाशचन्द्र भट्ट । 

हमालले पार्टीबाट राजीनामा दिएपछि संयोजकको जिम्मेवारी सम्हालेका दीनेश भण्डारीले भने –‘हामीले उपप्रमुख लगायत केही वडामा मात्र उम्मेदवारी मनोनयन दर्ता गराएका छौं । नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार भनिएका हमाल नै हाम्रो उम्मेदवार हुन ।’
हमाललाई विवेकशिल साझा पार्टी मात्र नभई राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायतको पनि समर्थन रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता छत्र शाहीले भने –‘हामीले नगर प्रमुखमा हमाललाई समर्थन गर्दै उपप्रमुख र वडामा मात्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन ।’

पार्टीको जिम्मेवारीबाट चुनाव जित्न नसकिने भएपछि विवेकशील साझा पार्टीले स्वतन्त्र उम्मेदवार खडा गरेका हुन । पार्टीकै एक नेताले भने –‘बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विवेकशील साझा पार्टीले कतिपय ठाउँमा उम्मेदवारी दिएको छ भने कतिपय ठाउँमा पार्टीको भूमिकाबाट राजिनामा दिन लगाएर स्वतन्त्र उम्मेदवार खडा गरेको छ । यसरी स्वतन्त्र उम्मेदवारलाई विवेकशील साझा पार्टीले समर्थन गरेको छ ।’

विवकशील साझा पार्टी केन्द्रिय कार्यालयका कार्यालय सचिव दिपक उप्रेतीले पार्टीको जिम्मेवारीबाट चुनाव जित्ने नदेखिएपछि कतिपय ठाउँमा राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएको बताए । स्वतन्त्र रुपमा खडा गरिएका उम्मेदवारलाई विवेकशील साझा पार्टीको समर्थन रहेको छ सचिव उप्रेतीले भने, ‘धनगढीमा विवेकशील साझा पार्टीका प्रदेश संयोजक गोपाल हमालजीले राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।’ उनले सुर्खेतमा पनि स्वतन्त्र उम्मेदवार खडा गरिएको उनले बताए ।

कतिपय ठाउँमा पार्टीको उम्मेदवार बनाएका छौं कातिपय ठाउँमा जिम्ेवारीबाट राजीनामा दिएका स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको कार्यालय सचिव उप्रेतीले भने, ‘हामी संग नजिक भएर काम गरेका साथीहरुलाई समर्थन गर्ने योजना छ ।’ धनगढी उप–महानगरपालिकामा गोपाल हमाललाई विवेकशील साझापार्टीले समर्थन रहेको छ । पार्टीले विज्ञप्ती मार्फत गोपाल हमाललाई समर्थन रहेको बताएको छ । पार्टी उम्मेदवार बनाउदा जित हात नपर्ने देखेपछि धनगढीमा ३ जनालाई पार्टीबाट राजिनामा दिन लगाएर स्वतन्त्र उम्मेदवार बनाएको छ । सुदूरपश्चिम प्रदेशमा मात्रै विवेकशील साझा पार्टी संग जोडिएका एक दर्जन बढीले स्वतन्त्रमा उम्मेदवारी दिएका छन् ।

विगतको स्थानीयतह निर्वाचन, प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा अपेक्षाकृत नतिजा ल्याउन नसकेका कारण विवेकशील साझा पार्टीले पार्टी जिम्मेवारीबाट राजीनामा दिन लगाएर स्वतन्त्र उम्मेदवार खडा गरेको हुन सक्ने राजनितिक विश्लेषकहरु बताउँछन् । पार्टीको संगठन कमजोर भएकाले स्वतन्त्र उम्मेदवार बनाएर जिताउने र तिनीहरुलाई पुनः पार्टीमा प्रवेश गराएर पार्टीको शाख जोगाउने रणनिति विवेकशील साझा पार्टीको हुन सक्ने राजनितिक विश्लेषक अरुण अवस्थीले बताए । 

हमालले आफु स्वतन्त्र उम्मेदवार रहेको प्रतिक्रिया दिए । ‘कुनै पार्टी नभनी मैले स्वतन्त्र भएर उम्मेदवारी दिएको हुँ । यसमा कुनै पार्टीलाई मेरो उम्मेदवारी मन परेर मलाई समर्थन गर्छ भने मेरा लागि राम्रै हो’ उनले भने ।