कारबाहीमा परेकालाई उम्मेदवार बनाइएको भन्दै काँग्रेसमा असन्तुष्टि
2022/04/28, 7:52
 
ss

आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयनलाई लिएर नेपाली काँग्रेसभित्रको विवाद चुलिएको छ । धनगढी उपमहानगरपालिकामा वडामा एकलौटी रुपमा उम्मेदवार छानिएको र कारबाहीमा परेका व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै निर्वतमान वडाध्यक्षसहित ५७ जना काँग्रेस सदस्यले पार्टीको क्रियाशील सदस्यबाट सामूहिक राजीनामा दिने निर्णय गरेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष दीपक थापासहित ५८ जना कार्यकर्ताले सामूहिक राजीनाको घोषणा गरेका हुन् । निवर्तमान अध्यक्ष थापा, काँग्रेसका पूर्ववडा सभापति अनन्तराज जोशी, छत्र बडैलालगायत नेताहरुले धनगढीमा बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टीको कारबाहीमा परेका व्यक्तिलाई उम्मेदवार बनाइएकोप्रति गम्भीर असहमति रहेको जनाए ।

‘आकांक्षीहरुसँग छलफलनै नगरी एकोहोरो ढंगले पार्टीको विधानविपरीत स्थानीय तहको निर्वाचन २०७४ मा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध बागी भइ कारबाहीमा परेका तर हालसम्म कारबाही फुकुवा नभएको व्यक्तिलाई सिफारिस गरिएकोप्रति हामीले गम्भीर असहमति जनाएका थियौँ ।’ पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘टीकट वितरण गर्ने निकायले हामी क्रियाशील सदस्यहरुको मर्म तथा भावनाविपरीत बागी उम्मेदवारलाई नै अधयक्ष पदको टीकट दिएकोप्रति हाम्रो असन्तुष्टि रहेको छ ।’

वडा सदस्यको टीकट वितरणमा समेत धाँधली भएको निवर्तमान वडाध्यक्ष दीपक थापाले बताए । वडा सदस्यमा टीकट पाएको व्यक्तिहरुको नाममाथि समेत टीपेक्स लगाएर आफूअनुकुल सदस्यको नाम थपिएको असन्तुष्ट पक्षको आरोप छ । नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को अध्यक्षको उम्मेदवार बुद्धि खड्कालाई बनाएको छ ।    

वडाको टीकट दिने प्रकृयामा भूगोल, क्षेत्र, योगदान आदिको मूल्यांकनका आधारमा नभइ हस्तक्षप गरेर टीकट बाँडिएको वडाका पूर्वसभापति अनन्तराज जोशीले बताए । एकलौटी ढंगले गरेको निर्णय तथा पार्टीले गर्ने विभेदपूर्ण व्यवहारबाट पीडित पार्टीका इमान्दार, क्रियाशील एवं सक्रिय कार्यकर्ताले मनोभावनामा आँच पुगेको उनले बताए ।

पार्टीले गरेको विभेदपूर्ण व्यवहारबाट इमान्दार र सक्रिय कार्यकर्ता प्रताडित हुनुपरेकाले पार्टीको सदस्यबाट सामूहिक राजीनामा दिने निर्णय गरिएको निवर्तमान अध्यक्ष थापाले बताए । आगामी निर्वाचनमा आफूहरुले सिद्धान्तका आधारमा नभइ स्वविकेकका आधारमा मतदान गर्ने विज्ञप्तिमा जनाइएको छ ।