धनगढी उपमहानरमा महाभिडन्त: काँग्रेसले जोगाउला विरासत ?
2022/04/29, 1:18
 
ss

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा १५ दिनपछि हुने स्थानीय तह चुनावको सरगर्मी ह्वात्तै बढेको छ। मेयरका उम्मेदवारहरु घरदैलो अभियान सुरु गर्नेदेखि प्रचारप्रसारमा व्यस्त छन्।  नेपाली कांग्रेसले अघिल्लो चुनावमा प्रमुख जितेका नृपबहादुर वडलाई फेरि गठबन्धननको तर्फबाट उम्मेदवार उठाएको छ भने माओवादी उपप्रमुख पदका लागि चुनावी मैदानमा उत्रिएको छ।

२०७४ को चुनावमा उनका निकटतम प्रतिद्वन्द्वी गोपी हमालले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। धनगढीको समाजसेवी, व्यवसायी समेत रहेका हमालको चाम पनि उत्तिकै छ। अहिले उनको विरुद्धमा पार्टी संगठन भएकाले विकास गर्न नसक्ने बताइरहेका छन्।  अर्को तेस्रो शक्तिमा रहेको नेकपा एमाल यसपालि भने प्रमुख पद जित्ने दाबी र आत्मविश्वासका साथमा अभियानमा जुटको छ। 

गठबन्धनलाई कसैले हराउन सक्दैन -नृपबहादुर वड

नेपाली कांग्रेसबाट मेयरको टिकट पाएका धनगढी उपमहानगरपालिकाको मेयरका उम्मेदवार नृपबहादुर वडले नेपाली कांग्रेससहित ५ दलीय गठबन्धनलाई कुनै पनि शक्तिले हराउन नसक्ने बताए। ‘हामीले सबै क्षेत्रबाट गरेको विकास र महानगरलाई चाहिने आवश्यक पूर्वाधार पूरा गरेका छौं। महानगर हुनसक्ने क्षमतामा हामी पुगिसकेका छौं। हाम्रो महानगरमा आवश्यक सिटी हल तयार पारेका छौं। कोल्डस्टोर, वडा कार्यालय, आम्दानीको दायरा बढाउने तथा राजस्व वृद्धि गर्ने काम गर्न सफल भइएको छ,’ वडले भने, ‘कोभिड महामारीमा पनि यो उपमहानगरले ३० करोड रुपैयाँ संकलन गर्न सकेको छौं। अब यसको दायरा फराकिलो हुँदै महानगर बन्नसक्ने क्षमतामा यो उपमहानगरलाई पुर्याउँछु भन्ने छ।’

उनका अनुसार जुन गतिमा खानेपानी, स्वास्थ्य, कृषि, शिक्षा, पूर्वाधारसहितको क्षेत्रमा काम गरेको छ। जुन वडामा हिजो १ किमि पनि सडक कालोपत्रे थिएन, अहिले त्यहाँ १८ देखि २५ किलोमिटर सडक कालोपत्रे भएको छ।  खानेपानी ८ देखि ८५० घरधुरीले मात्रै प्रयोग गरेका थिए, अहिले १० हजार घरधुरीले खानेपानी पाइसकेका छन्। निरन्तर रूपमा खानेपानी विस्तार भएको छ। हिजोको दिनमा खानेपानी ट्यांकी एउटा वडामा मात्रै थियो भने आज १६ वटा वडामा खानेपानी पुगेकाले कांग्रेसको जितलाई कसैले पनि छेक्न नसक्ने मेयरका उम्मेदवार वडले बताए।

‘संघीय सरकार, प्रदेश सरकार र हाम्रो काम विश्लेषण गर्ने संस्थासहितले उपमहानगरपालिकालाई विभिन्न शीर्षकमा सम्मान गरेका छन्। यस्तो सम्मान हामीले गरेको काम तुलनात्मक रूपमा अरुको भन्दा उत्कृष्ट भएकोले पाइएको छ’, वडले दाबी गर्दै भने, ‘यस्तो कामले धनगढी उपमहानर बनाउनमा थप सहयोग पुगेको छ। हामीले हरित क्षेत्रमा काम गरेकै धनगढी उपमहानगर नेपालका सबै स्थानीय तहभन्दा अगाडि आउन सफल भएको छ।’

अन्य पूर्वाधार पनि तीव्र गतिले निर्माण भइरहेको निवर्तमान मेयरसमेत रहेका वडले बताए।  ‘विद्यालय भवन, स्वास्थ्य कार्यालल बनाउने काम भइरहेको छ। हामीले १८ वटामा स्वास्थ्य कार्यालय, १९ वटा वडामा सामुदायिक भवन बनाएका छौं। विद्यालय भवन पनि पर्याप्त मात्रामा बनाइएको छ। जुन क्षेत्रमा आवतजावत गर्न असहज छ, त्यो स्थानमा पुल हाल्ने र बाटो मर्मत गर्ने गरेका छौं। अहिले पनि ३०र३१ वटा प्रोजेक्टहरूमा हामीले काम गरिरहेका छौं,’ वडले भने।

अब एमाले धनगढीमा पहिलो पार्टी हो-रणबहादुर चन्द 

धनगढी उपमहानगरपालिकाको एमालेका उम्मेदवार रणबहादुर चन्दले एमाले पहिलो पार्टी हुने दाबी गरेका छन्।  एमाले वडा तहदेखि पालिका हुँदै जिल्ला, प्रदेश र केन्द्रसम्म सु(व्यवस्थित भएको, कुनै पनि फरक मत र विचार नभएकाले मेयर जितेर पहिलो हुने दाबी चन्दले गरे।

‘जित्ने आधार भनेको हामीले वडा तहमा अब्बल, परिचित, जनताका काम गरेका छन् र जो जनतासँग भिजेको छ, त्यही उम्मेदवारलाई उठाएका छौं। वडाहरुमा पनि हामीले जुन ठाउँमा जुन समुदाय र संरचना छ, त्यहीअनुसार नै उठाएका छौं। अर्को कुरा पार्टीले लिएको नीति, दृष्टिकोण, सिद्धान्तलगायतका कुराहरुले हामीले जनतालाई बुझाउन सकेका छौ,’ चन्दले  भने।

उनका अनुसार नेपाली कांग्रेसले जित्ने बेलामा उनीहरुले जनतालाई धेरै आश्वासन दिएका थिए। ‘त्यो उसले पुरा गर्न सकेको छैन, त्यसले पनि जनताहरु रुष्ट भएका छन्,’उनी भन्छन्। अब कांग्रेस फेल भइसकेको र त्यसको विकल्प भनेको एमाले भएको उनले दाबी गरे।

धनगढी सुदूरपश्चिम प्रदेशको एउटा मात्रै उपमहानगरपालिका हो। यसले जुन गतिमा विकास निमार्णको काममा गति लिनुपर्ने थियो, त्यो सकेको छैन। योजना बनाएर विकास गर्नुपर्ने हो त्यो छैन। खाली तदर्थवादमा मात्रै चलेको र त्यसलाई बदल्नको लागि अब आफ्नो आवश्यकता भएको उनले बताए।

‘घोषणामार्फत सुदूरपश्चिमको राजधानी भएकाले सफा, सुन्दर र व्यवस्थित बनाउने योजनाका साथ हामी आउँछौं। यहाँ मुख्य यातायात व्यवस्थापन, सडकमा पार्किङको समस्या, ढलको समस्या छन्। सडकहरुमा पनि समस्याहरु देखिएका छन्। त्यसैले व्यवस्थित सहर बनाउनका लागि समस्याहरुलाई समाधान गर्नुपर्छ, त्यसमा हामी लाग्ने छौं। १९ वटा वडा रहेको उपमहानगरपालिकामा नागरिकका आधारभूत आवश्यकता पनि पुरा गर्न सकेका छैनौं। त्यसलाई पनि हामीले पुरा गर्छौं,’ उनले भने।

उनका अनुसार जनताहरू अझै पनि स्वच्छ खानेपानी, शिक्षा, स्वस्थ्य, रोजगारीलगायतका आधारभूत सेवाबाट बञ्चित छन्। उनी भन्छन्, ‘त्यसलाई कसरी पुरा गर्दै लैजाने भन्ने कुराको योजना लिएर अगाडि बढ्दै धनगढीमा अव्यवस्थित बसोबासको धेरै ठूलो समस्या छ। त्यसलाई मुख्य एजेण्डा बनाउने छौँ।’