दार्चुलामा २९ जनाको उम्मेदवारी फिर्ता
2022/04/29, 7:20
 
crct

दार्चुलामा २९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आ–आफ्नो स्थानीय तहमा स्थापित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिनेमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रबाट उम्मेदवार दिनेहरु रहेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयहरुका अनुसार उम्मेदवारी फिर्ता लिनेमा पालिका अध्यक्ष ६ जना, उप्रमुख महिला २ जना, उपाध्यक्ष १ जना रहेका छन् ।  उम्मेदवारी फिर्ता लिनेमा लेकम गाउँपालिका अध्यक्षमा कांग्रेसका बागी इन्द्रसिह साउद, उपाध्यक्षका उम्मेदवार अनिता धामी छन् । लेकम गाउँपालिकामा ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

मार्मा गाउँपालिकामा नेकपा एकीकृत समाजवादीबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका इन्द्रसिह विष्टले उम्मेदवारी फिर्ता लिएका छन् । गाउँपालिकाभर ५ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत लवराज जोशीले बताए । शैल्यशिखर नगरपालिकामा मौलिक जरोकिलो पार्टीबाट उपप्रमुख पदमा उम्मेदवारी दिएका बिस्ना जोशीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । शैल्यशिखर नगरपालिकामा २ जना वडाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

दुहुँ गाउँपालिकामा स्वतन्त्र गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका पुष्करसिंह कार्की र माधव जोशी सहित ४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठले जानकारी दिए ।  मालिकार्जुन गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका पदका उम्मेदवारले फिर्ता लिएका छन् ।

महाकाली नगरपालिकामा नेपाली कांग्रेसबाट असन्तुष्ट भएर उपप्रमुखको उम्मेदवार बनेका आनन्दी भट्टसहित ६ जना वडाध्यक्ष र २ जना वडासदस्य गरी ९ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  अपिहिमाल गाउँपालिकामा वडा नम्बर ३ का २ जना वडाध्यक्ष र वडा नम्बर २ का २ जना वडासदस्यले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नौगाड र व्याँस गाउँपालिकामा भने कसैले उम्मेदवारी फिर्ता लिएका छैनन् । दार्चुलामा कुल ३२३ पदको लागि ७७० जनाको उम्मेदवारी परेको थियो ।