यी हुन् धनगढीका मेयर वडले पाँच बर्षमा गरेका कामहरु 
2022/05/02, 4:46
 
ss

 धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले पाँच वर्षको कार्यकालमा गरेका कामहरु सार्वजनिक गरेका छन् ।

सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर वडले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण कामहरुको विवरण सार्वजनिक गरेका हुन् ।

यस्ता छन् पाँच बर्षमा गरेका कामहरु:-

श्रद्धय नेताज्यूहरु, विभिन्न पदका उम्मेदवारज्यूहरु, पत्रकार साथीहरु तथा उपस्थित महानुभावहरु  सबैमा जय नेपाल ।
हामी पुनः स्थानीय निर्वाचनको महापर्वमा होमिएका छौं । २०७४ सालको स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिकाका सम्पूर्ण आदरणीय मतदाताज्यूहरुको अपार समर्थन, सहयोग र अमूल्य मतका कारण हामी बहुमत वडाहरुसहित नगर प्रमुख र उपप्रमुख पदमा विजयी भएका थियौं । आजको दिनमा आदरणीय सम्पूर्ण मतदाताहरुमा हामीलाई दिनुभएको समर्थन र अमुल्य मतका लागि पुनः हृदयदेखि नै आभार र धन्यवाद व्यक्त गर्दछौं । 

यस पटक राष्ट्रिय राजनीति तथा मुलुक र समयको आवश्यकताका आधारमा हामीले पाँच दलीय गठबन्धन निर्माण गरी निर्वाचनमा सहभागी भएका छौं । हामीलाई धनगढीका आम मतदाताहरुमाथि अगाध विश्वास छ । धनगढी उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट संयुक्त प्रतिवद्धता सार्वजनिक गरेका छौं । व्यवस्थित, सुन्दर र समृद्ध धनगढीको हाम्रो परिकल्पना साकार पार्ने यो हाम्रो लिखित प्रतिवद्धतापत्र हो । 

चुनावका बीच अहिले हामी आफ्नो पाँच वर्षे कार्यकालको आफैंले समिक्षा गरिरहेका छौं । यो पाँच वर्षमा विकास निर्माण, सेवा प्रवाहदेखि आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा के कस्तो जग कोर्न सकियो ? के कस्तो परिवर्तन आयो ? भन्ने उपमहानगरपालिकाका सबै आदरणीय नगरबासीले मनन् गर्नुभएको छ । हाम्रो पाँच वर्षे कार्यकालको हामी आफैंले समिक्षा गर्दा के कुरा ढुक्कसंग भन्न सक्छौ भने– हामीले धनगढी उपमहानगरपालिकालाई समृद्ध, सुन्दर र व्यवस्थित नमुना शहरका रुपमा विकास गर्न आवश्यक सबै भौतिक संरचनाहरु तयार गरेका छौं । भौतिक संरचना निर्माणको यही जगमा अब हामी धनगढीलाई महानगरपालिका बनाउने हाम्रो संकल्प पुरा गर्छौ भन्ने पूर्ण विश्वास छ । 


आदरणीय नगरबासी दिदीबहिनी, दाजुभाईहरु
विकासका प्रतिफलहरु प्राप्तहुन निश्चित रुपमा केही समय लाग्छ । हामीले हाम्रो पाँच वर्षे कार्यकालमा गरेका कामहरुले धनगढी उपमहानगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक पक्षमा भइरहेका सकारात्मक उपलब्धीहरु केही आम जनताले अनुभव गरिसक्नु भएको छ । 

हाम्रो पाँच वर्षे कार्यकाल निकै चुनौतिपूर्ण थियो । शुरुको एक वर्ष हामीलाई कर्मचारी र स्रोत व्यवस्थापन, नीति तथा ऐनकानुन निर्माण, र व्यवस्थित नगरको दीगो खाका निर्माणको चुनौति रह्यो । बीचका दुई वर्ष कोरोना महामारीले सिर्जना गरेका समस्याहरुको व्यवस्थापनमा विते । पहिलेदेखि नै अव्यवस्थित ढंगले विकास र विस्तार भइरहेको धनगढी उपमहानगरको व्यवस्थित विकासको जग बसाल्ने चुनौति रह्यो । तर, हामीले यी सबै तमाम चुनौति र कठिनाईहरुका बीच पनि आम नगरबासीको चाहना र आवश्यकताका आधारमा विकास निर्माण तथा सेवा प्रवाहलाई अघि बढायौ । तपाईंहरुको साथ र समर्थनका कारण धनगढी उपमहानगरपालिका मुलुक ७५३ पालिकामध्ये सबैभन्दा उत्कृष्ट पालिका बन्यो । उत्कृष्ट धनगढी उपमहानगरपालिकाको प्रमाणपत्र ग्रहण गरिरहेको क्षण मैले मनमनै तपाईं सम्पूर्ण नगरबासीहरुलाई नमन गरेको थिए । 


यतिवेला हामीले आफ्नो पाँच वर्षको कार्यकालमा भएगरेका कामहरुको समिक्षा गर्दैगर्दा तपाईं आम नगरबासी दिदीबहिनी दाजुभाइहरुमाझ थोरै विवरणहरु प्रस्तुत गर्दछु ।  
धनगढी उपमहानगरपालिकामा आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा आर्थिक वर्ष २०७७÷०७८ मा आन्तरिक आय २७० प्रतिशतले बृद्धि भएको छ । 
पाँच वर्षको अवधिमा (गत माघ मसान्तसम्म) ७१ किलोमिटर सडक कालोपत्रे र १९१ किलोमिटर सडक ग्राभेल भएको छ । २६ वटा पक्की पुल तथा कल्भर्ट र तीन वटा झोलुंगे पुल निर्माण भएका छन्, दुई वटा झोलुंगे पुल निर्माणाधीन अवस्थामा छन् । 
१२ वटा पार्क, २६ किलोमिटर ढल, ६७ वटा विद्यालय भवन र २२८ वटा नयाँ कक्षा कोठा निर्माण ।
१५ वटा वडा कार्यालय भवन निर्माण । दुई वटा निर्माणाधीन ।
१६ वटा स्वास्थ्य चौकी र, ६८ वटा सामुदायिक भवन निर्माण ।
नगर यातायात गुरुयोजना निर्माण ।
बायोग्यास प्लान्ट निर्माण । 
सबै नव–निर्मित भवन अपांगमैत्री र स्तनपान गृहको व्यवस्था ।
घरहरुको नम्बरिङ प्रणाली जारी । धनगढीको ई–प्रोफाइल निर्माण । 
सिटीहल तथा जेष्ठ नागरिक भवन, 
थारु राना संग्राहालय । जडिबुटी प्रशोधन केन्द्र  र कनरी पार्क निर्माण ।
फोहर मैला ब्यबस्थापन केन्द्रको सुरुवात ।
क्षेत्रीय सहरी विकास आयोजनाका सडकहरु तीब्र गतिमा निर्माण भइरहेका छन् । 
यो पाँच वर्षको कार्यकालको बीचको दुई वर्ष कोरोना महामारी व्यवस्थापनका क्रममा हामीले गर्नसकेका केही काम उल्लेख गर्ने अनुमति चाहन्छु । 
कोभिड–१९ पोजेटिभ देखिएको टोलमा शिविर संचालन गरि स्वाब संकलन ।
१६,४०० जनाको निःशुल्क पि.सि.आर. स्वाव संकलन ।
आईसोलेसन केन्द्र स्थापना गरि २२४ जनालाई सेवा प्रदान ।
बेली शहरी स्वास्थ्य केन्द्रमा अक्सिजन प्लान्ट स्थापना ।
महामारीको समयमा भारत लगायतका विभिन्न मुलुकबाट स्वदेश फर्किनेहरुको लागि ४३ वटा क्वारेन्टाइन स्थापना गरि ३,९८६ जनालाई सेवा प्रदान ।
कोभिड–१९ महामारीको समयमा गौरीफन्टा नाकामा हेल्थ डेस्क सञ्चालन र एक ला ७४ हजार २६७ जनालाई सेवा प्रदान ।
१८ वर्ष माथिका नागरिकहरुमध्ये ९३ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप प्रदान ।
स्वास्थ्य संस्थाहरुमा गर्भवती महिलाहरुको नियमित जाँच तथा परामर्श सेवा ।
पूर्ण खोप युक्त धनगढी उपनगरपालिका घोषणा ।
बेली शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमा बर्थिंग सेन्टर स्थापना ।
त्यस्तै, कृषितर्फ भएका कामहरुको संक्षिप्त विवरण प्रस्तुत गर्दछौं । 
२७० कठ्ठा जग्गामा केरा खेति, २५ कठ्ठा जग्गामा कागती खेति र १० कठ्ठा जग्गामा आँपलिची खेतिका लागि अनुदान । 
८७ वटा साना सिंचाई निर्माण र यसबाट ७८० परिवार लाभान्वित तथा १५० हेक्टरमा थप सिंचाई सुविधा उपलब्ध ।
अनुदानमा ३० वटा पावरटिलर, थ्रेसर एवं रिपर प्रदान । 
बगर खेति सहयोग कार्यक्रम अन्तर्गत २३० घरपरिवारका १२ कृषक समुहलाई अनुदान । 
त्यस्तै, पशुपालनतर्फ 
वडा ११, १३, १४, १५, १६, १७, १८ र १९ का महिला, जनजाती, दलित एवं विपन्न वर्गका व्यक्तिहरुलाई ३८० बंगुरका पाठा वितरण  र तालिम ।
पकेट प्याकेज कार्यक्रम अन्तर्गत वडा ४, ५ र ६ का महिला, जनजाती, दलित एवं विपन्न वर्गका व्यक्तिहरुलाई २१० बाख्रा वितरण तथा तालिम ।
वडा १, २ र ३ का महिला, जनजाती, दलित एवं विपन्न वर्गका व्यक्तिहरुलाई ३८० बंगुर वितरण र तालिम ।
किसानलाई १८ वटा विद्युतीय च्यापकटर प्रदान ।
त्यस्तै, शैक्षिक विकासतर्फ
बालविकासदेखि कक्षा १२ सम्मको लागि शिक्षण सिकाई सामग्री, विद्यार्थी मूल्यांकनका लागि प्रति विद्यार्थी लागत अनुदान ।
कक्षा बालविकासदेखि कक्षा ५ सम्मका सबै सामुदायिक बालबालिकाहरुलाई दिवा खाजा उपलब्ध गराउने व्यवस्था ।
सामुदायिक विद्यालयका छात्राहरुलाई निशुल्क सेनिटेरी प्याड वितरण ।
धनगढी पोलिटेक्निकल इन्स्टिच्युट स्थापना र सञ्चालन ।
आधारभूत तहका २६ विद्यालयलाई ल्यापटप एवं प्रिन्टर वितरण ।
त्यस्तै, सामुदायिक विकास तर्फ
सबै वडा कार्यालयहरुमा अप्टिकल फाइबर जडान । 
३३ जना महिला दिदि–बहिनीका लागि लोकसेवा तयारी कक्षा संचालन ।
धनगढी उप–महानगरपालिकाका सबै वडाहरुमा एकल महिलाहरुलाई सेनेटरि प्याड निर्माण तालिम ।
१८३ जना किशोरीहरुलाई आत्मरक्षा तालिम । र २५ जना किशोरीलाई जीवन उपयोगी तालिम प्रदान ।
धनगढी उपमहानगरपालिकाका सबै वडाका अति विपन्न एवं अपांगता भएका व्यक्तिहरुलाई १८ वटा व्हिल चियर, ३० वटा बैशाखी, १८ वटा सेतो छडी, ६ वटा कमोड चियर र १० वटा फोल्डिंग स्टिक गरि ८२ थान अपांगता सहायता सामग्री खरिद गरि वितरण ।
वडा १, २, ५, ७, ८, १०, ११, १४, १५, १८ र १९ मा ग्यास, चुलो, कुकर मर्मत तालिम ।
आर्थिक वर्ष २०७६÷७७ मा अपांगता भएका महिला समेतका लागि सिलाई कटाई सम्बन्धी ६ महिने तालिम संचालन ।
आदरणीय नगरबासी दाजुभाई दिदीबहिनीहरु 
हाम्रो पाँच वर्षे कार्यकालमा भएगरेका कामहरुले हामीलाई समृद्ध, सुन्दर र व्यवस्थित धनगढी शहर बनाउने आधार प्राप्त भएको छ । यी कार्यहरुको आलोकमा हामीले आगामी पाँच वर्षका लागि आफ्ना कार्यक्रम, नीति र दृष्टिकोणहरु हाम्रो संयुक्त प्रतिवद्धतापत्रमार्फत यहाँहरुको समक्ष प्रस्तुत गरेका छौं । हामी तपाईं आदरणीय नगरबासी दिदीबहिनी, दाजुभाईहरुबाट अहिलेसम्म हामीलाई प्राप्त भइरहेको साथ, समर्थन र मत यस चुनावमा पनि प्राप्त हुनेछ भन्नेमा पूर्ण विश्वासमा छौं । हामी यहाँहरुको सेवकका रुपमा सधैं सेवा गरिरहने छौं । हाम्रो कामले कहिल्यैं तपाईंहरुको शीर निहुराउन दिने छैनौ । 
तपाईंहरुको अमुल्य मत, साथ र सहयोगका लागि पुनः बिनम्रतापूर्वक आग्रह गर्दै अहिलेलाई विदा लिन्छु ।  जय नेपाल ।  
 

यस्ता छन् पाँच बर्षमा गरेका कामहरु:-