मेयरकी एक्ली महिला उम्मेदवारको सपना : हिंसारहित घर, समृद्ध समाज
2022/05/02, 4:49
 
ss

जिल्लाभरमै पालिका प्रमुख पदको एक्लो प्रत्याशी रहेकी महिला धनदेवी कुँवरले आफूले जितेमा नगरपालिकालाई हिंसारहित बनाउने प्रतिबद्धतासहित प्रचार थालेकी छन् । नगरपालिका क्षेत्रका अधिकांश महिलाहरू घरेलु हिंसाबाट पीडित भएकाले सबै घर हिंसारहित नहुन्जेलसम्म नगरको विकास नहुने बताउँदै प्रचार अभियान थालेकी हुन् ।

‘यहाँ प्रत्येक घरका महिलाहरूले दैनिकजसो कुनै न कुनै खालको हिंसा भोग्नुपरिरहेको छ । यस्तो अवस्थामा समृद्ध नगरको कल्पना कसरी गर्न सकिन्छ रु’ उनले भनिन्‚ ‘नगर प्रमुखमा विजयी भएँ भने हिंसाको अन्त्य गर्नु नै मेरो पहिलो प्राथमिकता हुनेछ । हिंसारहित समाजमात्रै विकसित र समृद्ध हुन्छ भन्ने मेरो विश्वास हो ।’


उनले आफू विजयी भएमा हिंसामा शून्य सहनशीलताको नीति अपनाउने, जाँडरक्सीको बिक्री वितरण तथा सेवनलाई नियमन र नियन्त्रण गर्ने तथा महिलालाई आत्मनिर्भर बनाउने खालका कार्यक्रमहरू लागु गर्ने बताइन् । २०४७ सालमा अनेरास्ववियुमा आबद्ध हुँदै राजनीतिमा प्रवेश गरेकी कुँवर बुङ्गल क्षेत्रमा मदिरा नियन्त्रण अभियान चलाएका कारण २०५१ सालमै चर्चित भएकी थिइन् ।

नेकपा ९एमाले० को तर्फबाट बुङ्गल नगरपालिकाको प्रमुख उम्मेदवारी दिएकी उनी प्रमुख पदमा प्रत्याशी रहेकी एक्ली महिला उम्मेदवार हुन् । जिल्लाका १२ वटै पालिकाहरूमा अरु कुनै पनि दलले महिलालाई प्रमुख पदमा उठाएका छैनन् । पार्टीले महिलालाई सम्मान गरेर आफूलाई प्रमुख पदमा विश्वास गरेको बताउँदै उनले जनताले पनि मत दिएर विजयी गराउने विश्वास व्यक्त गरिन् ।

महिला, बालबालिका र वातावरणमैत्री नगर बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै उनले नगरमा रहेको बेरोजगारी समस्या समाधानका लागि प्रयास गर्ने बताइन् । ‘यहाँको युवा जनशक्ति भारतमा गएर मजदुरी गर्न बाध्य पारिएको छ । युवालाई आफ्नै गाउँमा रोकेर उत्पादनसँग जोड्ने गरी कार्यक्रम बनाउने छु‚’ उनले भनिन्‚ ‘५ वर्षपछि २र४ हजार रुपैयाँ कमाउनका लागि रुँदै रुँदै देश छाड्नुपर्ने बाध्यताबाट नगरलाई मुक्त बनाउने मेरो सपना छ‚’ यो नगरपालिका जिल्लामै सबैभन्दा बढी मानिसहरू रोजगारीका लागि भारत जाने पालिकामा पर्दछ ।


आफू निर्वाचित भएमा नगरमा शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइका पूर्वाधार निर्माण गर्ने तथा कृषि उत्पादन र जडिबुटीमा आधारित उद्योगहरू सञ्चालन गरेर ठूलो मात्रामा रोजगारी सिर्जना हुने वातावरण तयार गर्ने उनको दाबी छ । ‘नगर विकासका सबै आयामहरू मैले राम्ररी बुझेकी छु‚’ उनले भनिन्‚ ‘बुङ्गललाई नमूना नगरपालिका बनाउने अठोट लिएर राजनीतिमा आएकी हुँ‚’ उनले आफू निर्वाचित भएमा महिलाले केही गर्न सक्दैनन् भन्ने मानसिकता चिर्दै अरुले सिक्न सक्ने नगरपालिका निर्माण गरेर देखाउने दाबी गरिन् ।

कुँवरले अहिले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जयबहादुर धामीसँग प्रमुख पदमा प्रतिस्पर्धा गरिरहेकी छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा उपप्रमुख पदमा लडेकी थिइन् । कांग्रेसकी मिनादेवी बोहरा जाग्रीसँग उपप्रमुखमा पदमा उनी ७ सय ७१ मत अन्तरले पराजित भएकी थिइन् । गत निर्वाचनमा यो नगरपालिकाको प्रमुख पदमा पनि कांग्रेसका धनबहादुर विष्ट विजयी भएका थिए ।