धनगढीका स्वतन्त्र उम्मेदवार भट्टद्वारा वडलाई समर्थन 
2022/05/09, 4:37
 
ss

धनगढी उपमहानगरपालिकाको नगर प्रमुख पदमा स्वतन्त्र पदबाट उम्मेदवारी दर्ता गराएका मदनकृष्ण भट्टले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका छन्। वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि सोमबार आठ बुँदे सहमति गर्दै सत्ता गठबन्धनका नृपबहादुर वडलाई उनले समर्थन गरेका हुन ।

‘मैले नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएकोमा मेरा तपसिलका मुद्दाहरूमा आफ्नो समर्थन जनाई सहकार्य गर्ने भन्ने सहमतिका आधारमा गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार नृपबहादुर वडबाट सहमति जनाएकोले नगर प्रमुखका उम्मेदवारहरूमध्ये सबैभन्दा उत्कृष्ट, क्रियाशील र विकास तथा समृद्धिका मुद्दा उठान गर्ने र समाधानको लागि सक्रिय तथा स्वच्छ छविका उम्मेदवार वडलाई समर्थन गरेको छु’ भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले पार्टीमा समाहित हुने निर्णय गरेको पनि जानकारी दिए ।‘सम्पूर्ण शुभचिन्तक, इष्टमित्र, साथीभाइ तथा आम मतदाताहरूमा गठबन्धनका तर्फबाट अघि सारिएका उम्मेदवारहरूलाई मतदान गरी सहयोग गरिदिन हुन विनम्र अनुरोध गर्दछु’ सो विज्ञप्तिमार्फत आग्रह गरे ।

उपमहानगरपालिका भित्रका माध्यमिक तहका विद्यार्थीहरूलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने, स्वास्थ्य समस्याहरूलाई सबैभन्दा बढी महत्त्व दिई समाधान गर्ने, डुवानका समस्याहरू अविलम्ब समाधान गर्ने, ‘भ्रष्टाचारमुक्त धनगढी’ अभियानको रुपमा कार्यान्वयन गर्ने, खेल, पर्यटन, धार्मिक पर्यटनको विकासका लागि योजनाबद्ध विकास गर्ने, अन्य कार्यक्रम गठबन्धनको घोषणापत्र बमोजिम गर्ने लगायतका सहमति रहेका छन् ।

भट्टको समर्थन पाएपछि नगर प्रमुख वडले धन्यवाद व्यक्त गरेका थिए । नगर प्रमुख वडले भने ‘सत्ता गठबन्धनसँगै स्वतन्त्र उम्मेदवारले समर्थन गर्दा थप निर्वाचनमा सहजता भएको छ ।’