विकास र समृद्धिका लागि कांग्रेसले स्थानीय चुनाव जित्न जरुरी: देउवा
2022/05/10, 5:52
 
ss

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको समग्र विकास र समृद्धिका लागि कांग्रेसले स्थानीय चुनाव जित्न जरुरी रहेको बताएका छन।  सोमबार गृहजिल्ला आएका सभापति देउवाले आज जिल्ला सदरमुकाममा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै बाटोघाटो, सडक कालोपत्र, सडक चौडालगायत खानेपानी र स्वास्थ्य तथा बेरोजगारी हटाउन पहल गर्ने बताए । 

सभापति देउवाले पूर्वाधार तयार गर्न सकिए प्रदेश राजधानी डडेल्धुरा सार्न सकिने बताए । “डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ”, सभापति देउवाले भने,“ अब संरचना निर्माण गर्छौ । त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ ।” डडेल्धुरामा विमानस्थल र सिटीहल निर्माण गर्नुपर्ने उनको भनाइ थियो । 

पश्चिम सेतीसँगै पञ्चेश्वर बहुद्देश्यीय परियोजना पनि चाँडै भारत सरकारसँग समन्वय गरी सञ्चालनमा ल्याउनका लागि कुराकानी भइरहेको उनको भनाइ थियो । सभापति देउवाले बाटो बिर्सेर अन्यन्त्र लागेका नेता तथा कार्यकर्तालाई घर फर्किन आग्रहसमेत गरे । “अझै केही बिग्रेको छैन घर फर्किनुस्”, उनले भने । विकास विरोधी तत्व र लोकतन्त्र मास्ने गिरोहसँग नलाग्न नेता तथा कार्यकर्तालाई उनले सुझावसमेत दिए । 

त्यसै गरी नेपाली कांग्रेस प्रदेश समितिका सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले सच्चा राष्ट्रभक्त मात्रै कांग्रेसमा रहेको बताए । हिजोका चुनावमा धोका दिने मात्रै मुनाफा लिएर अर्को पार्टीमा लागेको उनले दाबी गरे । त्यसैगरी केन्द्रीय सदस्य नैनसिंह महरले चुनावमा अन्तर्घात गर्ने तत्व करुवा लिएर एमालेको सतिगएको आरोप लगाए  ।