डोटीको आर्दश गाउँपालिका वडा नम्बर २ का ६२ वर्षीय पुरुष कोरोना पोजेटिभ देखिएपछि गाउँ छोरेर धनगढीका विभिन्न ठाउँहरुमा घुमिरहेका छन् । जेठ १३ गते भारतको गुजरातबाट फर्केर स्थानीय शारदा माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका उनको आरडिटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्नेगरी २७ गते घर पठाईएको थियो ।
सोही दिन थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि गाउँपालिकाले धनगढी प्रयोगशालामा पठाएकोमा शनिबार मात्र उनको रिर्पोट पोजेटिभ आएको हो । तर ती पुरुष होम क्वारेन्टिनमा नबसेर उनी धनगढीका विभिन्न ठाउँहरुमा घुमिरहेका छन् । उनी बिरामी लिएर उपचारका लागि धनगढी आएको खुलेको छ । छिमेकी बिरामी भएपछि एम्बुलेन्समा लिएर धनगढी आएको र यस बारेमा आफुहरुलाई कुनै जानकारी नभएको वडा अध्यक्ष रामबहादुर बोहराले जानकारी दिए ।
रिर्पोट पोजेटिभ आएपछि होम आईसोलेसनमा बस्न भनेकोमा उनी विभिन्न ठाउँहरुमा घुमेका कारण यतिका दिनसम्म कति जनाको सम्पर्कमा गए अब कसरी ट्रेसिङ गर्ने भन्ने समस्या भएको छ । उनका अनुसार आरडिटी टेस्टमा नेगेटिभ आएपछि ती पुरुषलाई ७ दिन होम क्वारेन्टिनमा बस्नेगरी घर फर्काइएको थियो । डोटीबाट बिरामी लिएर आएका उनी अहिले गोदावरी नगरपालिकाको लालपुरमा आफन्तको घरमा रहेको पत्ता लागेको वडाध्यक्ष बोहराले बताए ।
यसअघि उनी धनगढीको बोराडाँडीमा पनि आफन्तको घरमा एक रात बसेको पत्ता लागेको छ । उनको सम्पर्कमा आएकाहरु कोरोना संक्रमणको भयले त्रसित भएका छन । बोराडाँडीमा बस्दै आएका उनका आफन्तकोमा पनि एक रात वसेको खुलेको छ । आर्दश गाउँपालिकाले अहिले सम्म आरडिटी परीक्षणमा नेगेटिभ देखिएका चार जनामा कोरोना पुष्टि भएको जनाएको छ । वडा नम्बर २ र ३ मा दुई÷दुई गरी चार जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका सिनियर अहेब बमबहादुर खड्काले बताए । उनका अनुसार आरडिटी नेगेटिभ आएकै कारण उनीहरुलाई गाउँपालिकाको क्वारेन्टिनबाट घर पठाईएको थियो ।
कैलालीको अत्तरिया बजारमा संक्रमित खुलेआम बजार घुमिरहेको अवस्थामा भेटिएका छन । सोमबार अत्तरिया चौराहमा भेटिएका कोरोना संक्रमित डोटीको आर्दश गाउँपालीका वडा नं. २ का बासिन्दा हुन । ४ दिन अघि बिरामीलाई ल्याएर माया मेट्रो अस्पतालमा आएका उनलाई आईतबार साँझ कोरोना पुष्टि भएको हो । भारतबाट आएर २१ दिन गाउँपालिकाकै क्वारेन्टाईनमा बसेको र आरडिटि रिर्पोट नेगेटिभ आएपछि आफुहरुलाई घर पठाईएको उनी बताउँछन ।
वडाध्यक्ष सँग पिसिआर चेकका लागी अनुरोध गरेपछि आफ्नो स्वाव संकलन गरिएको र आईतबार मात्रै वडाध्यक्षले आफु कोरोना संक्रमित भएको जानकारी दिएको उनले बताए । आरडिटि रिर्पाेट नेगेटिभ आएपछि उनी बिरामी आफन्तलाई लिएर एम्बुलेन्समा ४ दिन अघि मात्रै धनगढीस्थीत माया मेट्रो अस्पतालमा आएका थिए । त्यसपश्चात उनी गोदावरी नगरपालीका वडा नं. ६ हरैयामा आफन्तको घरमा एक दिन बसे भने वडा नं. ६ कै लालपुरमा अर्का आफन्तको घरमा ३ दिन बसे । बिरामी सहित उनीसँग ४ जना आफन्तहरु आएका थिए ।
आज बिहान कामको सिलसिलामा अटो चढेर अत्तरिया बजार आएका उनलाई वडाध्यक्ष लगायतको टोलीले चोकमा रोकेर राखेको थियो । उनीहरु सबै वडा नं. ६ मा आफन्तको घरमा बसेको वडा नं. ६ का वडाध्यक्ष बिर बहादुर चोखालले बताए । आफुले थाहा पाईसकेपछि नगरपालीकालाई जानकारी गराउदाँ पनि नगरपालीकाले चाँसो नदेखाएको वडाध्यक्ष चोखालले आरोप लगाए । ‘मैले जानकारी गराईसकेपछि नगरपालीकाले तुरुन्तै एक्सन लिनुपर्ने हो तर त्यसो भएन’ उनले भने ‘संक्रमित बसेको घर सिल गर्नुका साथै अत्तरिया बजार आउदाँ चढेको अटोको पनि तुरुन्तै पत्ता लगाउनुपर्छ ।’
कोरोना संक्रमित आर्दश गाउँपालीका वडा नं. २ का ६० वर्षिय बृद्ध हुन । आफुलाई कुनै किसिमको समस्या नभएको उनि बताउँछन । ‘वडाध्यक्षले कोरोना संक्रमित भएको खबर दिए’ उनले भने ‘तर मलाई त्यस्तो कुनै अनुभुती भएको छैन, न त कुनै लक्षण नै देखिएका छन ।’ यता नगरपालीकाको स्वास्थ्य शाखाका कर्मचारी विष्णु जोशीले संक्रमितलाई सम्बन्धीत पालीकामै पठाउन समन्वय भैरहेको बताए । अन्य पालीकाका संक्रमित भएकाले भन्ने बित्तिकै त्यसको व्यवस्थापन गर्न नसकिने बताउदै उनले सम्बन्धीत पालीकाको निर्णय आउदासम्म यतै व्यवस्थापन गरि राखिने बताए ।
७ दिन अनिवार्य होम क्वारेन्टिनमा बस्ने शर्तमा घर फर्काइएकाहरु भने ग्रामीण क्षेत्र मात्र नभई एक जिल्लाबाट अर्को जिल्ला डुल्न थालेपछि जोखिम बढेको छ । संक्रमितलाई होम आईसोलेसनमै राख्ने व्यवस्था गरेपछि समुदाय स्तरमा संक्रमण फैलिने खतरा बढेको स्वयम् स्वास्थ्यकर्मी बताउँछन । तर प्रदेश सरकार, स्थानीय तह लगायतका निकाय भने निर्देशिकालाई देखाउँदै कोरोनाको जोखिम न्युनिकरणमा गम्भीर नबनेको आरोप लागेको छ ।