धनगढीको मत परिणाम सार्वजनिक हुन बाँकी, सामाजिक सञ्जालमा फेक पोष्टहरुको ओईरो
2022/05/14, 2:39
 
ss

धनगढी उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । गणना वडा नम्बर १ बाट सुरु गरिएको हो । मतगणना धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनमा भइरहेको हो । मत गणनाको पहिलो मत भने बदर भएको छ । स्रोतका अनुसार रुख र आप चुनाव चिन्हमा हालिएको मत बदर भएको हो । 

दिउँसो साढे १२ बजेदेखि मत गणना सुरु भएकोमा हालसम्म मत परिणाम भने सार्वजनिक भएको छैन । यदपी सामाजिक सञ्जालहरुमा नक्कली र फेक पोष्टहरुको ओईरो लागेको छ । फेक पोष्टहरुको चर्को आलोचना पनि भएको छ । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य दिलवहादुर छत्यालले सामाजिक सञ्जालमा नक्कली पोष्टहरुका कारण मतदाताहरुलाई भ्रममा पारेको बताए । उनले फेशबुकमा लेखेका छन्–‘धनगढी उपमहानगरपालिकाको मतगणनाको अहिलेसम्म नतिजा आएको छैन ! फेसबुकको रमिता किन ? नतिजाको व्यग्र पतिक्षामा रहेका नगरवासिलाई भ्रमित पार्ने कार्य राम्रो होइन !!’

धेरै जनाले फेक पोष्टहरु आएपछि त्यसमा सत्यता नरहेको भन्दै सामाजिक सञ्जालमा पोष्टहरु गरेका छन् । धनगढीमा १९ वडा रहेका छन् । धनगढीमा नेपाली कांग्रेसका नृपबहादुर वड र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यस्तै, नेकपा एमालेबाट रणबहादुर चन्द पनि प्रतिस्पर्धामा रहेका छन् ।